जनता टाइम्स

५ बैशाख २०७७, शुक्रबार १४:१८

कोरोना युद्ध र मेरो देश


तीस वर्षसम्म शासन गरी एउटा गतिलो थर्मामिटर र बिरामी जाँच्दा चिकित्साकर्मीले लाउने एकजोडी पोसाक ल्याउन नसक्नेले अहिले विरोधका नाममा गैरजिम्मेवारीपूर्ण ढङ्गले थोत्रा गाला बजारेको देख्दा विडम्बना लाग्छ । थुक्न मन लाग्छ त्यस्ता अपराधीहरूका अनुहारमा जो आज हिजोका आफ्ना कमजोरी ढकछोप गर्न आज साधु बिरालो बनेर ङ्यार्रङ्यार्र गर्दै बुर्कुसी मारिरहेछ

प्रा.डा.ऋषिराम शर्मा

मुलुक कोरोना युद्ध लडिरहेछ ! नागरिक आआफ्ना घरभित्रका क्वारेन्टाइनमा चुपचाप बसेर युद्ध मोर्चामा खटिरहेछन् र राज्य प्रमुख कमान्डरको आदेश पालना गरी कोरोनासँग अनवरत छापामार सोसल डिस्टेन्सिङ लडाँइ समेत लडि रहेछन् ! हामीले स्वर्ग ठानेका सम्भ्रान्त र विकसित मुलुकहरूमा कोरोनाको कहर देख्दा, लाग्छ, हामी निकै भाग्यमानी रहेछौँ ।

गुगलले कोरोना सतर्कतामा अमेरिका भन्दा पनि नेपाल अगाडि रहेको डाटा तथ्यसहित जब अघि सार्छ, डब्लुएचओले कोरोना रोकथाममा नेपालका कदमको जब प्रशंसा गर्छ, तब नागरिकप्रतिको यो जिम्मेवारी र सतर्कता देखेर राज्यप्रति गर्व गर्न मन लाग्छ ! मैले राज्यका यस्ता कदमप्रति गर्व गरेको यो लेख पढ्दै गर्दा यही महामारीका भट्टीमा सत्ताको तीनपाने सुरा तताइरहेकाहरू र मृत्युको खेती गरी त्यसैमा भुनभुनाउन चाहने हरिया झिँगाहरूले मलाई अरिङगाल भन्न पनि बेर मान्ने छैनन् ।

जे सुकै होस्, पाश्चात्य सभ्यताको आदिम भूमि रोम र पोपको सहर भ्याटिकन सिटीमा कोरोना मृत्युको जुलुस बनेर आइरहँदा र त्यहाँका राष्ट्रपति धुरुधुरु रोइरहेको कारुणिक दृश्य हामी अनपेक्षित रूपमा हेरिरहन विवश भएकै हौँ । फ्रान्स, स्पेन र बेलायत मात्र होइन, करिब आधा शताब्दीसम्म समस्त भूमण्डलमै महाशक्तिका रूपमा साम्राज्य जमाएको अमेरिकासमेत यो युद्धमा आफ्ना नागरिक भुतुभुतु मारिएको टुलुटुलु हेर्न विवश भएको वीभत्स दृश्यले पनि हाम्रा आँखामा आएर ठुङ मारेकै हो ।

त्यति सम्पन्न मुलुकमा सरकार भेन्टिलेटर, मास्क र स्यानिटाइजर तथा इक्विपमेन्ट पुर्याउन नसककेको त्यतातिरको हाहाकार पनि सुनिएकै हो । अर्कातिर कोरोनाको हाहाकार भन्दा औषधि र मेडिकल साधनको हाहाकारले ती देशहरूमा अर्को त्रासदी निम्त्याएको पनि हामीले पढेकै छौँ । बिरामीले अस्पतालमा बेड नपाएको धनी देशको त्त्यो टिठलाग्दो अवस्था देख्दा लाग्छ, असामान्य अवस्थामा जतिसुकै सम्पन्न भएपनि विपन्नताको नै विजय हुँदो रहेछ क्यार ! मानव लाशहरुको रासलाई लगेर एउटै बडेमानको खाल्टामा डम्पिङ साइटमा फोहोर खसाले झैँ खसालेर पुर्दै गरेका कहालीलाग्दा दृश्य पनि हामीले देखेकै छौँ ।

यता म मेरो देश हेर्छु, आज राज्यले महामारी रोकथामका लागि जिम्मेवारपूर्ण तरिकाले चालेका कदमहरूप्रति हिजो तीस वर्षसम्म शासन गरी एउटा गतिलो थर्मामिटर र बिरामी जाँच्दा चिकित्साकर्मीले लाउने एकजोडी पोसाक ल्याउन नसक्नेले अहिले विरोधका नाममा गैरजिम्मेवारीपूर्ण ढङ्गले थोत्रा गाला बजारेको देख्दा विडम्बना लाग्छ । थुक्न मन लाग्छ त्यस्ता अपराधीहरूका अनुहारमा जो आज हिजोका आफ्ना कमजोरी ढकछोप गर्न आज साधु बिरालो बनेर ङ्यार्रङ्यार्र गर्दै बुर्कुसी मारिरहेछन् र महामारीलाई कुर्सीप्राप्तिको स्वर्णिम (!) अवसरका रूपमा सदुपयोग (!) गर्न खोजिरहेछन् ।

विपत र महामारीका बेला रचनात्मक विरोध र समाधेय सुझाव दिनु त परै जाओस्, राजयले महामारी नियन्त्रणका सशक्त विधि अपनाउँदा देखिएका झिनामसिना साइड इफेक्टहरूलाई भाइरल बनाउँदै यस्तो विपत र महामारीका बेला घरमा आगो लगाएर खरानी माथि शासन गर्न खोज्नेहरूको दोहोलो काढ्न मन लाग्छ ! अनि मनमनै कल्पन्छु, अघिल्ला शासकले मुलुक कहाँ पुर्याएका रहेछन् ? अनि एकोहोरो विरोध र वितण्डाभित्रको यी मदारीहरूको कुत्सित अभीष्ट के रहेछ ?

करिब तिन महिना पहिले पहिलो कोरोना सङ्क्रमितको खकार परीक्षण गर्न हङकङ पुर्याउनु परेको घटनाले विगत तीस वर्षसम्म स्वास्थ्य मन्त्रालयमा के कति मन्त्रीले कामका के कति खोरिया फाँडेका रहेछन् भन्ने कुरा व्याख्या गर्नै परेन र तीन महिनाका अवधिमा के कति काम भएको रहेछ भन्ने कुरा अहिलेको स्याल हुइय्या मत्थर भएपछि देखिँदै जाला ! कैयौँ गुना महँगो मूल्य तिरेर थाइल्यान्ड लाँदै गरेको औषधि त्यति विधि सम्पन्न मुलुक अमेरिकाले बीचबाटैबाट आफ्ना देशमा लगेको समाचार जब म एकातिर पढ्दै गर्छु, त्यतिबेला रातारात निर्णय गरेर त्यतिविधि महँगोमै भए पनि औषधि र सामग्री ल्याउन पहल गर्ने स्वास्थ्यमन्त्रीले स्वास्थ्य विभागलाई दिएको निर्देशनात्मक कदमलाई ( भ्रष्टाचार गरेको भए महामारी पछि त्यसको कडा हिसाब किताब गर्ने गरी ) अहिले धन्यवाद दिन मन लाग्छ !

अँ साँच्चै, ग्वाङजाउमा बसेर यतैका अपराधीको रिमोटमा देशको बजेट गज्याङगुजुङ पार्न परिचालित हुने र म सित्तै औषधि दिन्छु भन्दै धाक लाउने त्यो बिकम्मा बबुरो कसको भुरुङ बनेर नाच्यो होला ? र नचाउने मदारीहरूले अहिले यतातिर अन्न नै खाएका होलान् कि अन्य ? त्यस कुपात्रले दुनियासँग चन्दा उठाईसकेर यहाँ सित्तै दिने भनिएको एक चार्टर औषधि कहाँ पुग्यो होला ? त्यसबेला त्यसलाई मिडियामा ल्याएर हिरो बनाउनेहरूले अहिले आफू जिरोलेवलमा पुगेको महसुस गर्ने होलान् कि नहोलान् ? यी खलपात्रले मूल नायकमाथि जति हमला गरे पनि आखिर सिनेमाको समाप्तिका बेला त्यस्ता खलपात्र धूलिसात् हुने सत्य दर्शकहरूले थाहा पाएरै छाड्ने कुरा यिनलाई थाहा होला कि नहोला ?

अँ, तीन महिना पहिले बिरामीको स्वाब (घाँटीको लेदो) जाँच्न हङकङ लगिएको अवस्था र आज राज्यले व्यवस्था गरेको केन्द्रदेखि विभिन्न प्रदेशहरूमा ल्याब र इक्वीपमेन्टको अवस्थाको डाहाले पोलेर अब तिनै मदारीहरू नयाँ नयाँ फत्तुरका ताना पस्कँदै सामाजिक सञ्जाल बिस्ट्याउने नयाँ नयाँ धन्दा चलाइरहेको कुरो पनि सुनिँदै छ । राज्यको नेतृत्वप्रति आम नागरिकको भरोसा छ तर उही दलका शीर्ष नेताको किन छैन । यस्तो महामारीका बेला कराहीमा आफै मासु भुटेर खाँदा बडो शान ठान्ने तर आफ्नै सरकारले यति सचेततापूर्वक कदम चाल्दा भुटभुटिएर उखर्माउलो मान्दै संयन्त्रको पङ्खाले जिउ किन हम्कन परेको होला ?

आफ्ना भान्सामा नुन कम भयो भने प्रधानमन्त्रीलाई दोष दिने मेरो देशका कतिपय व्यक्तिहरू राम्रो गरे पनि अझ राम्रो किन गरिनस ? भनेर निहुँ खोज्ने र राम्रो काम गर्दा खर्च हुन पुगेको हिसाब किताबका कुरा गरेर (जब कि त्यहाँ अनियमितता भए कारवाही गर्ने निकाय र समय छँदाछँदै) कटुवालको हाक पारे पारामा आफ्नै गोडामा पिसाब गरेर न्यानो अनुभूति गर्ने मान्छेहरूको दरिद्र मानसिकता देख्दा मलाई लाज लाग्छ र जेमा पनि दोषैदोष देख्ने एकजना बुज्रुकको यो सन्दर्भ सम्झन्छु । एकजना बुज्रुक जहिले र जे कुरामा पनि दोष मात्रै दिन्थे रे । जति मिठो खाना बनाए पनि अबजस मात्रै दिने, कहिले भात गिलो, कहिले भात सारो, कहिले तरकारीमा झोल बढी भो त कहिले त झोल किन नहालेको ? एकदिन भान्सेले निकै ध्यान दिएर दोषै दिन नमिल्ने गरी खाना बनाएछ, तर ती बज्रुक न परे । उनले रिसाउँदै हुँदै नभएको खोट यसरी निकाले “अलि धेरै नुन हालेको भए चर्को हुने !!!! ?

अहिलेको महामारीमा मेरो देशमा यस्तै नेता, कार्यकर्ता, पत्रकार बज्रुकहरू भाइरल बन्ने फेसन चलेको छ । महामारीसँग जुद्धा सुख हुने कुरै हुँदैन । यस्तो सङकटसँग लड्नु भनेकै दुख कष्ट र पीडा बेहोर्नु हुँदै हो ! हो त्यसबेला सम्पन्नले भन्दा विपन्नले बढी दुख पाउँछन्, मजदुर ज्यामी र ज्यालादारी गर्नेहरूलाई यो महामारी भन्दा उनीहरूले भोग्नु परेको अभावको महामारीले पोल्छ, लखेट्छ र चिथोर्छ । सङगठित र असङ्गठित क्षेत्र जुन जुन क्षेत्रमा कामगर्ने मजदुर छन् तिनले तिनीहरूलाई स्थनीय निकाय, प्रदेशसँग सहकार्य गरेर तिनको व्यवस्थापन गर्नु पर्थ्यो ? त्यो त भएन, मजदुरहरू पैदलै हिँडेका, पोका, कुम्ला र कुटुरा बोकेका बिचल्लीपूर्ण दृश्य देखाउनु भन्दा त्यस्ता समूहमा हिँडेका व्यक्तिलाई सम्बन्धित प्रदेशबाट वा स्थानीय निकायबाट साधन व्यवस्था गरी घरघरमा पुर्याउन सम्भव नभए पनि पूर्वपश्चिम राजमार्गका निश्चित विन्दुमा पुर्याउने व्यवस्था गर्नु पर्छ र तत् तत् बिन्दुबाट सम्बन्धित स्थानीय निकायले लगेर आआफ्ना घरभित्रै होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी यो समस्या समाधानको गाँठो फुकाउन पर्छ । र सक्छौ भने अरुको कष्टमा सहयोग गरौँ, सक्दैनौ भने अरुका  दुःखका दुर्दशा नङग्याएर कुत्सित स्वार्थ पुरा नगरौँ ।

जब बुहानमा यो महामारीको आगो लाग्यो, चिनले त्यससँगको लडाइँलाई जनयुद्धको संज्ञा दियो । किनकि यो राज्य र सेना द्वारा लडिने लडाइँ थिएन, न त एक अर्कामाथि वाक्युद्ध गरेरै जितिने हो । राज्यलाई दोष दिएर त्यसकै रापमा कुण्ठा सेक्ने बेला यो होइन भन्ने चेत कहिले आउनै ? कोरोना जनताको शत्रु हो यससँग लड्न राज्य जिम्मेवार र सतर्कतापूर्वक लागिरहेछ । हामी पनि जिम्मेवार बनौँ ।