जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार १३:४४

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, पानीमा क्षारको मात्रा बढी भेटियो


रसुवा, कात्तिक १ । रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन गरिएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो । अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो ।

डुंगामा तालको छेउ, कुना, बीच सबै भागको गहिराई नापेको अनुसन्धानकर्ता न्यौपानेले बताउनु भयो । ‘गोसाईकुण्ड र भैरबकुण्डको सबै कुना, मध्य भागमा ट्रान्जेक्ट राखेर, कुण्डको सबै क्षेत्र कभर गर्ने गरी नापेका छौं, उहाँले भन्नुभयो, ‘डुंगा चलाएर गहिराई नापेका छौँ ।’

नयाँ प्रविधि ‘डेप्थ साउन्डर’ मेसिनको प्रयोग गरि गहिराई नापेको उनले बताए । ‘यो मेसिनले अल्फा फोनिक साउन्ड निकाल्छ । यो मानिसले सुन्न सक्दैन्, त्यो साउन्ड पानीको सतह छुवाइदिएपछि साउन्ड पानीभित्र फाल्छ, जमिनमा ठोक्किएपछि फिर्ता पठाउँछ, हामीले प्रयोग गरेको एडभान्स टेक्नोलोजी हो,’ उहाँले भन्नुभयो ।

गोसाइँकुण्डमा ७२ स्थानबाट र भैरबकुण्डमा ७० स्थानबाट गहिराई नापेको उहाँको भनाई छ । कुण्डको गहिराई नापे पनि यसको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए । ‘अहिले हामीसँग ‘र’ डाटा छ, तर त्यो चाहीँ हामीले जिआइएसमा राखेर प्रोफेस गर्नुपर्छ, यो डाटा प्रोफेस गरेपछि मात्र त्यसको गहिराई कति भन्ने आउँछ,’ उहाँले भन्नुभयो, ‘प्रोफेस नगरेसम्म ‘र’ डाटाको आधारमा भन्न सकेनौ, दसैं सकिए लगत्तै डाटा प्रोफेस सुरु गर्छौ ।’ न्यौपानेले डिसेम्बरभित्र एकेडेमीलाई प्रतिवेदन बुझाउनु पर्ने बताउनु भयो ।

कुण्डको पानीमा क्षारको मात्रा बढी
कुण्डको गहिराईको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि परीक्षण गरेको छ । गोसाइँकुण्डको पानीको मुहान त्रिशुलधाराबाट आएको ठाउँ, माथिको कुण्ड तथा तालहरूबाट आएको क्षेत्र, गोसाइँकुण्डको बीच भाग, गोसाइँकुण्डको मन्दिरतर्फको क्षेत्र, गोसाइँकुण्डबाट पानी निस्कने क्षेत्रमा पानीको गुणस्तर पनि नापेको न्यौपानेले बताउनु भयो ।

गोसाइँकुण्ड र भैरबकुण्डको पानीमा क्षारको मात्रा बढी पाएको हो । ‘हामीले पानीको नमुना लिएर परीक्षण गरेका थियौ, परीक्षणमा क्षारको मात्रा बढी रहेको पायौं, त्यहाँको पानी सबै अल्कालाइन नै छ, अम्लिय छैन्’ उहाँले भन्नुभयो, ‘तर मानिसहरूले नुहाउनुहुन्छ, कतिपयले नुहाउँदा प्रयोग गरेका कपडा त्यहि छोड्नुहुँदो रहेछ, नुहाउँदा कसैकसैले स्याम्पु, साबुन, प्रयोग गर्नुहुँदो रहेछ, त्यो कारणले अलि बढी क्षारको मात्रा छ, त्यही पानी बगेर भैरबकुण्डमा जाने भएकाले भैरबकुण्डमा पनि क्षारको मात्रा रहेको पाइएको छ ।’

यस्तै, उहाँले गोसाईकुण्डमा फोहोर व्यवस्थापनमा पनि जोड दिनुभयो । गोसाइँकुण्डबाट सदरमुकाम धुन्चे नजिकै रहेको घट्टे खोलामा साना ठुला गरि २१ वटा तालको पानी आउने गरेको उहाँले जानकारी दिनुभयो । ‘हामीले यसपटक क्याफमेन्ट लेबलको अध्ययन गर्न खोजेको हो, घट्टेखोलामा पानी आउने सबै तालको अध्ययन गर्न खोजेको हो, त्यसमध्ये दुईवटा ठुला तालको विस्तृत अध्ययन गरेको हो,’ न्यौपानेले भन्नुभयो । टोलीले गोसाइँकुण्डभन्दा माथिका अन्य १६ वटा कुण्डको जिपिएस लोकेसन पनि लिएको छ ।