काठमाडौं, १० कार्तिक । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, अर्का रोहित राना र वडा नं ११ का गोपाल भन्ने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतका श्रेस्तेदार राइभान कुञ्जेडाले भन्नुभयो, “हत्या घटनामा संलग्न हुनेलाई अदालतले जन्मकैद हुने ठहर गरेको छ ।” उक्त घटनाका अभियुक्त पूर्पक्षका लागि कारागारमा रहेका थिए । गत वर्षको कात्तिक १ गते रातिको समयमा सीमा क्षेत्र जुगडा क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा बेपत्ता भएका उक्त पोष्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको नजिकैको नेपाल–भारत सीमा क्षेत्रको मोहना नदीमा शव फेला परेको थियो ।













प्रतिक्रिया दिनुहोस्