जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार १२:३१

एमाले ककनीको अध्यक्षमा शेषमान लामा, यी हुन् अन्य कमाण्डर


रानीपौवा, कात्तिक १२ । नेकपा एमाले नुवाकोट ककनी गाउँपालिकाको ऐतिहासिक प्रथम अधिवेशनले शेषमान लामाको नेतृत्वमा ७५ सदस्यीय कमिटी निर्वाचित गराएको छ ।

अधिवेशनबाट अध्यक्षमा शेषमान लामा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनले उपाध्यक्षमा पवन फुयाल, सचिवमा योगेन्द्र तामाङ, उप–सचिवद्वयमा यम बहादुर लामा र कोपिला गुरुङलगायत ७५ सदस्यीय ककनी गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा गाउँपालिकाका डेढ सय बढी एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रथम अधिवेशनबाट ककनी गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष र अन्य पदाधिकारी एवं सदस्यहरुलाई सदस्यद्वय लामा र अधिकारीको उपस्थितिमा पार्टीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । सोही अवसरमा ककनी गाउँपालिकाका सबै वडाबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलेसमेत पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो ।