काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन् । कार्यवाहक सभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता तथा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पशुपतिनाथ मन्दिर पुग्नुभएको हो ।
गत सोमबार निधि पशुपतिनाथ पुगेर पूजाआजा गर्नुभएको थियो । पशुपतिनाथ मन्दिरमा जारी रामनाम संकीर्तन तथा रुद्र महायज्ञ पूजा गर्नुभएका उपसभापति निधिले जनकपुरबाट आएका श्री श्री १०८ श्री स्वामी जगत नन्दन दासजी महाराज (पगला बाबा) समक्ष पूजा गर्नुभएको हो ।
कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता खाँणले शनिबार पशुपतिनाथको दर्शन गर्नुभयो । सर्वसाधारणसँगै लाइनमा बसेर गृहमन्त्री खाँणले पशुपतिनाथको दर्शन गर्नुभएको हो । सो अवसरमा उहाँले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उहाँले दर्शन गर्नुभयो ।
यसको भोलिपल्ट आइतबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पशुपतिनाथ दर्शन गर्न पुग्नुभएको छ । पौडेल श्रीमतीसहित पशुपतिनाथ जानुभएको हो । आउँदो मंसिरमा १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएका निधि र पौडेल पनि सम्भावित सभापतिका उम्मेदवार हुनुहुन्छ । कांग्रेसका शीर्ष नेताले लगातार पशुपतिनाथको दर्शन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।













प्रतिक्रिया दिनुहोस्