जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १२:०५

अधुरै रह्यो दिदीसँगै भाइटीका सपिङ गर्ने सैनिक जवानको सपना


सुर्खेत, कात्तिक १९ । सुर्खेतमा दिदीभाई सवार स्कुटर दुर्घटना हुँदा भाईको मृत्यु भएको छ दुर्घटनामा दिदी गम्भीर घाइते भएकी छन्। बिहीबार नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ मा ठूलोब्यूरेनीमा मालबाहक ट्रकले उनीहरु सवार स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ वर्षीय रविन राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ। त्यस्तै रविनकी दिदी रानी राना मगर गम्भीर घाइते हुनुभएको छ । उहाँको कर्णाली प्रदेश अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

भेरीगंगा नगरपालिका–१२ छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ स्कुटरलाई जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो। दुर्घटना गराउने मालवाहक ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

रबिन र रानी भाइटिकाको किनमेल गर्न निस्किएको प्रहरीले जनाएको छ । रविन नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। चार वर्षअघि नेपाली सेनामा भर्ती हुनुभएका रविनको दरबन्दी रूकुम पश्चिमको सैनिक गणमा थियो। बिहीबार लक्ष्मीपूजाको दिन मात्र रविन अफिसबाट तिहारको विदा लिएर आफ्नो घर सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चु आइपुग्नु भएको हो ।

प्रहरीका अनुसार घर पुगेपछि रविनले दिदी रानीलाई भाइटिकाको किनमेल गर्न जाने योजना बनाएको सुनाउनु भयो। त्यसपछि दिउँसो पौने १ बजेतिर भाइटिकाको किनमेल गर्न वीरेन्द्रनगर, सुर्खेत निस्किनुभयो। सेनामा जागिर खाएयता रविन दिदीलाई लिएर पहिलोपटक भाइटिकाको किनमेलमा जाँदै हुनुहुन्थ्यो । दिदीभाइ स्कुटरमा छिन्चुबाट सुर्खेततिर लागे। स्कुटर रविनले चलाएका थिए भने दिदी रानी पछाडि बसेकी थिइन्। तर, उहाँहरुको भाइटिकाको किनमेल गर्ने योजनाबीच बाटोमै असफल भयो। वीरेन्द्रनगर–११ मा पर्ने ठूलो व्युरेनीमा उहाँहरु सवार स्कुटरलाई ट्रकले ठक्कर दियो।

जुम्लाबाट नेपालगन्ज जाँदै गरेको मालवाहक ट्रकले ठक्कर दिएपछि दिदीसँग भाइटिकाको किनमेलमा हिँडेका रविनको घटनास्थलमै मृत्यु भयो। दिदी रानी घाइते हुनुभयो। तिहारमा दिदीको हातबाट टीका लगाउन घर गएका रविनको अन्ततः दुर्घटनामा मृत्यु भएपछि घरमा रुवाबासी चलेको छ।

२६ वर्षीय रविनले दसैंमा मात्र भागी विवाह गर्नुभएको थियो। फुपाजु बितेको एक वर्ष पनि नपुगेपछि रविनले आफ्नी श्रीमतीलाई समेत घर भित्र्याउन पाउनु भएको थिएन। भगाएर ल्याएको श्रीमतीलाई छिन्चुमै कोठा लिएर राख्नुभएको स्थानीयले बताएका छन ।