काठमाडौं, २९ कार्तिक । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको पुष्टि गर्नुभएको छ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो , ‘साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ। प्रारम्भिक अनुसन्धान टुंगिएको छ। दोश्रो चरणको विस्तृत अनुसन्धान सुरु भएको छ। त्यसमा छुट्टै अनुसन्धान अधिकृत नियुक्ति भएको छ।’ उनले दोस्रो चरणको अनुसन्धानमा पनि अनियमितता देखिए संलग्न पदाधिकारीमाथि कारबाही हुने स्पष्ट पार्नुभयो । ‘अब विस्तृतमा छानबिन र अनुसन्धान हुन्छ।
यदि त्यसमा पनि अनियमितता भ्रष्टाचार देखियो भने त्यसमा संलग्न पदाधिकारी अधिकारी उपर भ्रष्टाचारको कसुरमा मुद्दा दायर हुन्छ’ उहाँले भन्नुभयो। उहाँले विस्तृत अनुसन्धान साइकल खरिदमा संलग्न अधिकारीहरुलाई छुट्टाछुट्टै बोलाएर बयान लिने भएकोले डेढदेखि दुई महिना समय लाग्ने बताउनुभयो। गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो।
जस्को प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध आन्दोलन नै गरेको थियो।













प्रतिक्रिया दिनुहोस्