जनता टाइम्स

९ फाल्गुन २०७८, सोमबार १०:३४

कांग्रेस महासमिति सदस्यमा दुईजना निर्विरोध


लमजुङ,९ फागुन । नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् । ११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् । शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएकोमा २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यसमा समावेशीतर्फ आदिवासी जनजाति महिला र दलित महिलाका उम्मेदवार निर्विरोध भएका हुन् । आदिवासी जनजाति महिलातर्फ राधादेवी श्रेष्ठ र दलित महिलातर्फ टीकाकुमारी बस्याल निर्विरोध हुनुभएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर पहिलो साता भएको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेसले महासमिति सदस्यको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रतिनिधिमध्येबाट छान्ने गर्छ । यो प्रक्रियामा सर्वसम्मत हुन नसके चुनावको माध्ययमबाट महासमिति सदस्य छान्ने गर्छ । महासमिति सदस्यका लागि उम्मेदवारी दिएकामध्ये अब १९ जनाबाट नौजना प्रतिनिधि छान्नुपर्ने कांग्रेसले जनाएको छ । यसका लागि २४ फागुनमा बेंसीसहरमा चुनाव हुनेछ ।

निर्वाचनमा १३ सय ७४ क्षेत्रीय प्रतिनिधिले निर्वाचनमा भाग लिनेछन् । यसअघि मंसिर पहिलो साता भएको क्षेत्रीय निर्वाचन, जिल्ला निर्वाचन र महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ७४ मतदाता रहेको कांग्रेसको निर्वाचन अन्गर्तत जिल्ला तथा महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ४० मत खसेको थियो । ३४ जना अनुपस्थित रहेका थिए ।