जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १७:५२

कसै–कसैको जुँगा जोगाइदिन व्याख्यात्मक टिप्पणी ल्याउनुपरेको छ : नेता रिजाल


काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केही नेताहरूको जुँगा जोगाइदिन एमसीसीबारे व्याख्यात्मक टिप्पणी गर्नुपरेको बताउनुभयो । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा बोल्दै नेता रिजालले व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताको मूल मर्ममा कुनै असर नपर्ने भएपनि गठबन्धनका केही नेताहरूको जुँगाको लडाइँ जोगाइदिन व्याख्यात्मक टिप्पणीको सन्दर्भ आएको बताउनुभयो ।

उहाँको यो टिप्पणी प्रचण्ड–माधवप्रति लक्षित थियो । ‘एमसीसीबारे बेकारको प्रचार गर्नुभयो । जनतामा भ्रम छर्नुभयो । जनतालाई सडकमा ल्याउनुभयो । एमसीसीको मूल सम्झौतालाई केही फरक पर्दैन, तरपनि कसैकसैको जुँगा जोगाइदिन व्याख्यात्मक टिप्पणी ल्याउनुपर्ने भो’, रिजालले भन्नुभयो ।

उहाँले नेपाल एमसीसी सम्झौता गर्ने एक्लो देश नभएको भन्दै विकासका लागि सबै मित्रराष्ट्रहरूको सहयोग स्वीकार गर्नुपर्ने बताउनुभयो । ‘दश खर्ब विकास बजेट खर्च गर्न नसक्ने हो भने हामीले सोचेको समृद्धि सम्भव छैन । त्यसका लागि हामीले विकास सहायता लिनुको विकल्प छैन’, रिजालले थप्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसदको गतिरोध अन्त्य गर्न र जिम्मेवाररूपमा प्रस्तुत हुनसमेत आग्रह गर्नुभयो ।