महोत्तरी, २१ फागुन । महोत्तरी वर्दिबासकी हेमलता सिंह आचेल खुसी हुनुहुन्छ । पाँच बर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उहाँ सुनाउँनुहुन्छ । उहाँमा यो खुसी ल्याउने औजार भने उहाँ आफै हो । उहाँको प्रयासमा नगरपालिकाले केही सहयोग र भरथेग भने गरिरहेकै छ । नगरपालिकाले यहाँका थारु महिलालाई मौसमी र बेमौसमी खेतीपाती कसरी लगाउने भन्ने बिषयमा सिकाएको थियो ।
यही सिकाइलाई हेमलताले पनि सदुपयोग गर्नुभएको छ । उहाँ आजकाल दिनभर खेतबारीमै जानुहुन्छ । उहाँले खेतमा खर्बुजा र तरकारी फलाउनुभएको छ । ‘हुन त केही वर्ष अगाडि पनि खेती गथ्यौं, तर बजार पाउन कठिन थियो । आजकाल घर–घरमै टेम्पो आइपुग्छ ।’ उहाँले भन्नुभयो । नगरपालिकाले हेमलताको टोलसम्म पुग्ने सडक निर्माण गरिदिएको छ ।
वडा अध्यक्ष रामकिशोर साहको पहलमा करिब ६० घरधुरी बस्ने चौधरी टोलमा विभिन्न शाखा र नगरपालिकासम्म जोड्ने मुख्य सडक सञ्जाल विस्तार भएको छ । हेमलता जनप्रतिनिधिहरूको सक्रियताप्रति निकै खुसी हुनुहुन्छ । आजकाल हेमलताको मात्र हैन वर्दिबास नगरपालिका–१२ स्थित यस वडाका थारु समुदायको दिनचर्या फेरिएको छ । नगरपालिकाले महिला उद्यमीबीच सहजकर्ताको भूमिका खेलेका कारण थारु महिलाहरु स्वरोजगार र सीपयुक्त भएका छन् ।
हेमलता जस्तैं २६ महिलाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । अहिले सबै २६ जना सामुहिक खेती गरिरहेका छन् । पहिला उत्पादन भएका सामान राख्न समेत यहाँ निकै समस्या थियो । स्थानीय सरकारले झण्डै ६ लाख खर्चेर साझा सुविधा केन्द्रको स्थापना गरिदिएको छ । अब भण्डारणको समस्या पनि समाधान भएको छ । दुई कोठे साझा सुविधा केन्द्रमा थारु समुदायले उत्पादन गरेको वस्तुले पनि सहजै स्थान पाउन थालेको छ ।
महिलाहरू सीप सिकेर आफै स्वरोजगार बनेपछि समुदायका पुरुषहरू पनि खुसी छन् । समुदायमा पुरुषभन्दा महिला बढी ब्यस्त हुने गरेको उनीहरू बताउँछन् । ‘महिलालाई आयअर्जनमा सहभागिता बढाउन नगरका उद्यम सहजकर्ताहरूले खेलेको भुमिका सुन्दर छ ।’ हिमलाल चौधरीले भन्नुभयो । नगरपालिकाले परिचालन गरेका उद्यमी सहजकर्ताहरूले वडा नम्बर १२ मा मात्र नभइ अन्य वडामा पनि विभिन्न सिपमुलक कार्यक्रम गरिरहेका छन् ।
विभिन्न वडामा अहिलेसम्म एक १७ जना महिला उद्यमी बनिसकेका छन् । महिलाहरूलाई अगाडि बढाए मात्र सामाजिक र पारिवारिक आर्थिक स्थिति बलियो हुने बिषयलाई मध्यनजर गरी टोलटोलबाट महिलालाई जागरुक बनाएको नगरप्रमुख विदुर कार्की वताउँछन् । गरिबी उन्मुलनमा नगरपालिका औपचारिक रुपमा लागेको उहाँको भनाइ छ । नगरपालिकाले नगरभरीका करिब २४ सय घरपरिवारलाई गरिबीको रुपमा पहिचान गरेको छ ।
तीन महिना अगाडि हेफर इन्टरनेसनल नामक संस्थासँग सम्झौता गरी नगरपालिका गरिबी उन्मुलनको दिशातर्फ उन्मुख भएको नगरप्रमुख कार्कीले बताउनुभयो । गरिबी उन्मुलनको लागि पहिला किसानहरूलाई पशु तथा कृषिमा आत्मनिर्भर बनाउने र त्यसपछि आर्थिक उपार्जनको लागि २४ सय घरधुरीलाई गरिबीबाट मुक्त बनाउने नगरको योजना छ ।





















प्रतिक्रिया दिनुहोस्