धनुषा, २६ फागुन । नेपाली काँग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गरेको छ । पहिलो चरणमा चुनावी प्रतिस्पर्धामा तेस्रो भएका कोइराला समूहका सभापति पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्नुभएको हो ।
काँग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनअघि सर्वसम्मति गराउने प्रयास विफल भएपछि प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पजियारलाई समर्थन गर्नुभएको छ । पूर्व उपसभापति निधिको निवासमा भएको छलफलपछि प्रसैलाले पजियारलाई समर्थन गर्नुभएको थियो । निधिले आफ्नो उम्मेदवारका लागि दौडधूप शुरु गरेपछि कोइराला समूह समर्थनका लागि तयार भएको हो ।
निधिसँग दुई कोइराला समूहबाट पूर्वमन्त्री रामकृष्ण यादव, डा. चन्द्रमोहन यादव, सभापति पदका उम्मेदवार प्रसैला लगायतका नेताहरुले छलफल गर्नुभएको थियो । यता देउवा समूहले पनि कोइराला समूहका उम्मेदवार प्रसैलालाई फकाउने प्रयास गरेको थियो । तर देउवा समूहसँग सहमति नजुटेपछि निधि समूहलाई समर्थ गर्ने निर्णय गरिएको बुझिएको छ । रामकृष्ण यादवले पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याएका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘हामीले सर्वसम्मति गराउने प्रयास गरेकै हो तर सर्वसम्मति हुन सकेन । सहमति नजुटेपछि सबैभन्दा बढी मत ल्याएका उम्मेदवारलाई समर्थन गर्नु हामीलाई उचित लाग्यो ।’ निधिले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा दिनेश प्रसैलाले आफ्ना उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेकोमा धन्यवाद दिनुभएको छ ।
उहाँले निर्वाचन पश्चात जिल्लाको दीर्घकालिन राजनीतिक गतिविधिमा सहकार्य र सहमतिमार्फत नै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मंगलबार पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा दोस्रो चरणमा आज पुनः निर्वाचन हुन लागेको हो । सोमबार भएको निर्वाचनमा कुल ३ हजार १ सय ७३ मतदाता रहेकोमा २ हजार ९ सय १२ जनाको मत खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्