जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार १७:२४

मधेस प्रदेशसभा बैठक : तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ


जनकपुरधाम, ११ चैत । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।

पटक–पटक स्थगित भएर पुनः सञ्चालनमा आएको बैठकमा सांसदहरूले संसदीय कोष, जनता आवास कार्यक्रम, विनियोजित बजेट निकासा नभएको भन्दै आपत्ति जनाएपछि सभामुख यादवले उपस्थितिका लागि अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री, पर्यटन तथा वन मन्त्रीका नाममा रुलिङ गर्नुभएको हो ।

यता चारचार पटक स्थगित भएर आजबाट सुरु भएको मधेस प्रदेशसभाको बैठक मन्त्रीको उपस्थितिविना नै बैठक सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन् । मधेस प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएका अवस्थामा बैठक चलाएको भन्दै नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाउनुभएको हो । ‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ ।

तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् यादवले भन्नुभयो, ‘विश्वभरिका संसद् बैठकहरु मन्त्रीको अनुपस्थितिमा चल्न सक्दैन । तर यहाँ चलिरहेको छ, यो तुरुन्तै सम्बोधन हुनुपर्छ ।’ मन्त्रीहरू संसद बैठकमा नआउने र सांसदहरूको गुनासो नसुन्ने हो भने मधेस प्रदेशसभा विघटन गर्न पनि उहाँले माग गर्नुभएको छ । ‘मन्त्रीहरू सबै जागीरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ,’ सांसद यादवले थप्नुभयो ।