काठमाडौं, चैत्र १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको नेकपा एमालेका अध्यँक्ष तथा पूर्वं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्युटावर चार वर्षमा निर्माण सम्पन्न गरेर मंगलबार उद्घाटन गरिएको हो। शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा एक सय ३४ फिट उचाइमा रहेको भ्युटावर १० तलाको रहेको छ। देशका विभिन्न भागमा सरकारी बजेटबाट अनुत्पादक रुपका भ्युटावर निर्माण गरिएकामा आलोचना भइरहेका बेला तिलोत्तमा नगरपालिकाले भने यो भ्युटावर बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दाबी गरेको छ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्युटावरमा पहिलो देखि छैंठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ।साढे ११ करोड बढी लागतमा निर्माण गरिएको भ्युटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गरेको छ। सुविधा सम्पन्न भनिएको भ्युटावरको भुईतला ३५ सय ९५ बर्गफिट क्षेत्रफलमा रहेको छ। कुल २५ हजार १२२ बर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्युटावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालय सहित बातानुकूलित कोठा, लाइब्रेरीलगायतका संरचना बनाइएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । भ्युटावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म देख्न सकिने छ भने दुरविनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिनेछ। नगरप्रमुख घिमिरेले ‘तिलोत्तमा भ्युटावर’ नगरपालिकाको गौरव र गहना भएको भन्दै यसले थप पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो । उहाँले अन्य भ्युटावरजस्तो नभई सुविधा सम्पन्न स्तरको भ्युटावर रहेकाले यसको प्रयोग गर्दै पर्यटकको आगमनमा समेत बृद्धि हुने दावी गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनका अनुसार कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्युटावर प्राकृतिक निर्माण सेवाले ठिक चार वर्षमा पूरा गरेको हो। लिफ्ट सुविधासहित बनेको भ्यू टावरसँगै २ विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरु समेत निर्माण भइरहेका छन्। शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएकोले भ्युटावरको निर्माणले उक्त केन्द्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले भ्यू टावर निर्माणपछि अहिलेको तुलनामा पर्यटकहरुको आकर्षण अझ बढ्ने बताउनुभयो । पछिल्लो समय बनबाटिका धेरै पर्यटकिय पुर्वाधार निर्माण भएको भन्दै जिल्लाकै नमुना पर्यटकिय स्थल बनाउने योजना रहेको उहाँले बताउनुभयो । सामुदायिक वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका रुपमा छुट्याएर संरचना निर्माण भइरहेका छन्। भ्युटावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ। त्यस्तै त्यहाँ चाईल्ड पार्क र स्टेडियम निर्माणको काम पनि सुरु भइसकेको छ। उपाध्यक्ष पाण्डेका अनुसार बाँकी निर्माणको कामको लागि केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्का सम्झौता भईसकेको छ। अबको २ वर्षमा बाँकी संरचनाको निर्माण सम्पन्न हुने र त्यसपछि वनबाटिका यसक्षेत्रकै प्रमुख पर्यटकिय स्थल बन्ने पाण्डेले दावी गर्नुभयो । वन विहार तथा अनुसन्धान केन्द्रमा दर्जनौं पिकनिक सेड, सहिद पार्क, विपी पार्क, म्याङगो पार्क, बाल मोनो रेल, चिडियाखाना लगायतका संरचना निर्माण भईसकेका छन्।
चिडियाखानाभित्र लोपउन्मुख सरिसृप अजिंगर र भालु, चितुवा, वनेल, निलगाई, मृग, बाँदर, विश्वकै ठूलो पंक्षि अस्ट्रिज, दुर्लभ गिद्ध, चित्तल, मयुर, सुगा लगायत पाल्तु एवं जंगली जनावर र चराचुरुङगी राखिएका छन्। भ्युटावर लगायतका संरचना निर्माणपछि इको टुरिजमका रुपमा विकास गर्ने दिर्घकालीन एवं महत्वकांक्षी योजना शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले अगाडि सारेको छ। केन्द्रले हालको चिडियाखानाको स्तरउन्नति, बोटानिकल गार्डेन, लुम्बिनीसँग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, ऐतिहासिक प्राकृतिक कुवा संरक्षण लगायतका संरचना निर्माण गरिरहेको छ।













प्रतिक्रिया दिनुहोस्