जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १९:०८

रुपन्देहीको ओमसतीयाका २४ लाई पुर्जा


भैरहवा, १६ चैत । रुपन्देहीको ओमसतीया गाउँपालिका–२ करबलाका २४ घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई बुधबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लालपुर्जा वितरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले यस पटक छुटेका अन्य भूमिहीनलाई समेत छिट्टै लालपुर्जा वितरणको लागि पहल गरिने बताउनुभयो ।

उहाँले जिल्लामा रहेका अन्य भूमिहीनलाई भूमि लाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न कांग्रेसले पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

रुपन्देहीमा अहिले भूमिहीनको विवरण सकंलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उहाँले सुनाउनुभयो । जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ । त्यस्तै नेता खाणले जन्मसिद्ध नागरिकतामा देखिएको समस्या समाधानका लागिसमेत पहल गर्ने बताउनुभयो । उक्त वडाका वडाध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको संघर्षपछि भूमिहीनलाई भूमि दिलाउन सफल भएको बताउनुभयो ।