तनहुँ, ४ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरल प्रयोग गर्दै आईरहेको सवारी सुविधा फिर्ता गर्नुभएको छ । आज शुक्लागण्डकीका मेयर किसान गुरुङले प्रयोग गर्ने ग १ झ ३२१ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेलाई हस्तानतरण गर्दै सुविधा फिर्ता गर्नुभएको हो । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा आफुले चढ्दै आईरहेको सवारी फिर्ता गर्ने उहाँ पहिलो जनप्रतिनिधि हो ।
उहाँले फेरि पनि मेयरमा दोहोरिनलाई पार्टीमा आकांक्षा देखाउनुभएको छ । कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले उहाँसहित १० जना आकांक्षी मेयरको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । तर अब मेयरको उम्मेद्वार नभए पनि सरकारी सवारीको प्रयोग नगर्ने मेयर गुरुङको उद्घोष छ । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उहाँको भनाइ छ ।
‘निर्वाचन नजिकिएकाले अब नगरपालिकाले सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको छु’, उहाँले अगाडि थप्नुभयो, ‘अब मेयरको उम्मेद्वार भए पनि नभए पनि सवारीको सुविधा लिन्नँ ।’ निर्वाचनको प्रक्रियामा सहभागी भएर जनताको सेवक बन्ने अवसर पाएर सरकारले दिएको सुविधामध्ये सवारी सुविधा फिर्ता गरेको उहाँले सुनाउनुभयो । अघिल्लो निर्वाचनमा शुक्लागण्डकीमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।
नेपाली कांग्रेसबाट मेयरमा किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । एमालेबाट मेयरका उम्मेद्वार बनेका रामचन्द्र उपाध्यायले आठ हजार ७०५ मत पाउनुभएको थियो । उपमेयरमा एमालेकी सविता रसाईली आठ हजार ९८३ मतका साग विजयी हुनुभएको थियो । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिनुभएको सर्वदा खनालले सात हजार ४३६ मत पाउनुभएको थियो ।
यसपालि गठबन्धन भए पनि शुक्लागण्डकीमा मेयर माओवादीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ । माओवादीले पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालालाई मेयर उम्मेद्वारमा सिफारिस गरिएको छ । कांग्रेसले पैँचो तिर्दै शुक्लागण्डकीको मेयर माओवादीलाई दिनुपर्ने अन्यथा तालमेल नहुने बताउँदै आइरहेको छ ।
एकीकृत समाजवादीको पनि शुक्लागण्डकीमा दाबी छ । एकीकृत समाजवादीले शुक्लागण्डकीमा चित्रबहादुर थापालाई मेयरको उम्मेद्वार बनाउने निधो गरेको छ । एमालेबाट भने तीन जनाको नाम मेयरमा सिफारिस छ । हालकी उपमेयर सविता रसाइली, मुक्ति तिम्लिसिना र श्यामराजा महतको नाम सिफारिस भएको हो । यदि गठबन्धन नभएको खण्डमा शुक्लागण्डकीको चुनावी भिडन्त रोचक हुने देखिन्छ ।
वडाध्यक्षले पनि फिर्ता गरे मोटरसाईकल
भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले पनि आफूले प्रयोग गर्दै आइरहेको सरकारी मोटरसाइकल फिर्ता गर्नुभएको छ । उहाँले चढ्ने ग १ ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गर्नुभयो । वडाध्यक्ष थापा नेकपा एमालेको तर्फबाट भिमादमा मेयरका आकांक्षी हुनुहुन्छ ।
निर्वाचनको बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उहाँले बताउनुभयो । ‘वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको छु’, उहाँले भन्नुभयो । भिमादमा सरकारी सवारी फिर्ता गर्ने उहाँ पहिलो जनप्रतिनिधि हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्