जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार १८:४३

आचारसंहिताविपरीत झुण्ड्याइएका तुल ब्यानर हटाइने


सप्तरी २१ वैशाख । उम्मेदवारहरूले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरूमा दलको झण्डा, निर्वाचन चिह्नअंकित तुल, बोर्डहरू तथा झुण्डयाएको ब्यानरहरू हटाइने भएको छ । सप्तरीका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेपछि हटाइने भएको हो ।

मूख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका निर्वाचन अधिकृतको आज बसेको बैठकले आचारसंहिताविपरीत टाँगिएका र झुण्डयाइएका तुल, ब्यानरलाई हटाउन उम्मेदवारसँग आग्रह गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उम्‍मेदवारले उक्त प्रचार सामग्री नहटाए अनुगमन अधिकृतको रोहवरमा नेपाल तथा सशस्त्र प्रहरीले ती सामग्री हटाउने बैठकले निर्णय गरेको छ ।

बैठकले अब सबै उम्मेदवार तथा नागरिक समाज, संघसंस्थाहरूलाई आचारसंहिताको उल्लंघन नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरीका अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीसहितको सहभागिता रहेको थियो ।