जनता टाइम्स

२४ असार २०७९, शुक्रबार १६:१०

गृहमन्त्रीज्यूले भ्रूण हत्या गर्नुभयो : शेरबहादुर तामाङ


काठमाडौं, असार २४ । प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाणको उक्त प्रस्तावलाई भ्रूण हत्यासँग तुलना गर्नुभएको हो ।

‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूण हत्या भयो,’ पूर्वमन्त्री तामाङले भन्नुभयो, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’

नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गरेका उहाँले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्र्ता लिन नहुनेमा जोड दिनुभयो ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै तामाङले नमिलेका कुनै विषयमा पछि अर्को विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे पनि जानकारी गराउनु भयो ।