भैरहवा, असार ३२ । भैरहवास्थित लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा १५ असारमा कर्मचारीबीच हातपात भएको घटना १५ दिनपछि सार्वजनिक भएको छ ।
निर्देशनालयका निमित्त निर्देशक र सोही तहका अधिकृतबीच धान दिवसका दिन हानहान भएको थियो । अनियमितताको आरोपमा कारबाहीमा परेका जिल्ला वन अधिकृत (डिएफओ) जीवन पंगेनी निर्देशनालयको निमित्त निर्देशक भएर आएपछि कार्यालयका कर्मचारीहरूले कसैलाई टेर्न छाडेका छन् ।
दुई साताअघि निर्देशनालयकै अर्का उप–सचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछि पंगेनी विवादमा तानिनुभएको हो । चौधरीलाई हातपात गर्ने पंगेनीले उल्टो आफूलाई आक्रमण प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा उजुरी दिनुभयो ।
उहाँको उजुरीपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी आएपछि छलफल गराउने भन्दै जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले दुवैलाई बिदा गरेका थिए । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर दीपक कुँवरले भन्नुभयो ‘दुई हप्ताअघि उजुरी आएको हो, त्यसपछि दुवै जनालाई बोलाएर राखेर कुरा गरायौं, मिल्नु भएन । सिडीओसाब आएपछि छलफल गराउने समन्वय भएको हो । चौधरीजी बाहिर जानु भएको भन्ने जानकारी आएकोले छलफल हुन सकेको छैन् ।’
घटना विवरण अनुसार, पंगेनीले उप–सचिव चौधरीलाई कार्यालयको कामको सिलसिलामा अर्घाखाँची जान स्वीकृत दिनुभएको थियो । स्वीकृतीपछि चौधरी अर्घाखाँची जान तयार हुनुभयो । तर, अर्घाखाँची जान भनेर घरबाट निस्केका उहाँ कार्यालयमा जाँदा कार्यालयको गाडी देख्नुभएन । उहाँले चालकलाई त्यहींबाट फोन गर्दा चालकले पंगेनीलाई लिएर बुटवल गएको बताए । त्यसपछि चौधरीले कार्यालय प्रमुख पंंगेनीलाई टेलिफोन गर्नुभयो । पंगेनीले ‘जान मन नभए नगए हुन्छ’ भन्दै ठाडो जवाफ फर्काउनु भयो ।
पंंगेनी कार्यालयमा आएर चुक्कल लगाएर बस्नुभएको थियो । त्यही विषयमा कुरा गर्न कार्यालय प्रमुखको कार्यकक्षमा जानुभएका चौधरीले चुक्कल लगाएको कोठा ढकढक्काए । अनि, त्यही विषयलाई पंगेनीले हातपात भएको वहाना बनाए । यसबारेमा पंगेनीसँग सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । उहाँको मोबाइल स्वीच अफ छ । कार्यालयका कर्मचारीहरूले उनी १ साउनसम्म बिदामा बसेको बताएका छन् ।
प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले दुवैबीच विवाद भएको र पंगेनी प्रहरी कहाँ गएर गल्ती गरेको बताउनु भयो । ‘प्रहरी कहाँ गएपछि म कहाँ पनि निवेदन आएको थियो ,’ उहाँले भन्नुभयो । वन निर्देशक इन्द्रबहादुर पछाई २२ असारमा अवकाशमा जानुअघि दुई साताको बिदा बसेपछि पंगेनीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।
रुकुम पूर्वमा डिभिजन वन अधिकृत समेत रहेका पंगेनीले नौ महिनाअघि यार्सागुम्बा संकलन गर्ने एक सेवाग्राहीसँग घुस माग्नुभएको थियो । घुस मागेको अडियोसहित वन तथा वातावरण मन्त्रालयमा उजुरी परेपछि छानबिन भएको थियो । मन्त्रालय स्रोतका अनुसार उजुरीपछि भएको छानबिनले उहाँलाई दोषी ठहर गरेको थियो । छानबिनपछि साविकमा कार्यरत रूकुमबाट प्रदेश वन निर्देशनालय भैरहवामा राखिएको थियो ।
रूकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटकी रसिला बुढामगरलाई पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि नियमानुसार राजश्व तिरेर वन कार्यालयको पूर्जी लिन गएका बेला कार्यकक्षमा होहल्ला हुन्छ भन्दै निवासमा बोलाएर घुस मागेका थिए ।
लामो बार्गेनिङपछि राजस्व तिरेको बराबरको रकम राजस्व स्वरुप दिनु भनेर सेवाग्राहीसँग घुस मागेको अडियो त्यसबेला सार्वजनिक भएको थियो । उहाँले सेवाग्राहीसँग माथिका मन्त्री, सिडिओ, पत्रकार र फाँटका अन्यलाई पनि दिनुपर्ने भनेर सेवाग्राहीसँग पैसा माग्नुभएको हो ।
कारवाहीस्वरूप रूकुम पूर्वबाट निर्देशनालयमा तानिएका पंगेनीलाई वन तथा वातावरण मन्त्रालयका सचिव कार्कीले निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी दिएपछि कार्यालयमा भाँडभैलो भएको छ । ‘त्यो व्यक्तिमा समस्या छ, सिनियर भएकाले निमित्त दिएको हो, अब सरूवा निस्कदा उपयुक्त पात्र पठाउनुपर्छ,’ सचिव कार्कीले भन्नुभयो ।
घुस काण्डमा कारबाहीमा परेका पंगेनीको एक वर्ष नपुग्दै महत्वपूर्ण जिम्मेवारी दिएपछि मन्त्रालयका अधिकृतहरू पनि असन्तुष्ट छन् । प्रदेश वन निर्देशनालयले प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयको कामको समन्वय, अनुगमन र निर्देशन दिनेगर्छ ।
पंगेनी निर्देशक भएपछि अहिले लुम्बिनी वन निर्देशनालयका कर्मचारीले एकले अर्कोलाई अटेर गर्न थालेका छन् । कर्मचारीले मनलाग्दी काज बनाउने र घर जाने गरेका छन् । निर्देशनालयकै सञ्जय तिवारी उप–सचिव प्राविधिक नवौं तहका अर्घाखाँची काज बनाएर चितवनस्थित निवास जानुभएको छ । केही दिनअघि पनि तिवारीले कार्यालयबाट काज बनाएर सरकारी सवारीसाधन लिएर निजी काममा गएको पाइएको छ ।
हालैमात्र सेवा निवृत्त भएका ईन्द्रबहादुर पछाई बिदा बसेपछि तिवारीले आफूलाई निमित्त बनाएर कार्यालयको सेवा सुविधा लिनुभएको थियो । ‘हामीले बद्नाम प्रदेश भनेर प्रदेश नम्बर २ लाई भन्थ्यौं । तर, त्योभन्दा बढी अहिले लुम्बिनी प्रदेश वन निर्देशनालय भएको छ ।’कार्यालयको अवस्था लथालिङ्ग देखेका एक कर्मचारीले भने ।
नौ महिनाअघि घुसकाण्डमा रूकुम पूर्वबाट प्रदेश वन निर्देशनालय तानिएका उप–सचिव जीवन पंगेनीले कार्यालय प्रमुखको जिम्मेवारी पाउने बित्तिकै सहकर्मीप्रति उदण्ड व्यवहार देखाउन थाल्नुभएको छ । त्यसको पहिलो शिकार उप–सचिव प्रेमशंकर चौधरी हुनुभएको हो।













प्रतिक्रिया दिनुहोस्