काठमाडौं, भदौ ९ । बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । नेतृ गिरीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गर्नुभएको हो । उहाँले चुनावमा सहयोग लागि सबैसँग आग्रह पनि गर्नुभएको छ ।
लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरी स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै छिन् भन्ने खुलेको छैन । बुधबार उहाँले दिवंगत कांग्रेस नेता प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताउनु भएको थियो । सरिता प्रदीप गिरीकी भाइबुहारी हुनुहुन्छ । उहाँ दुई वर्षअघि जसपा छाडेर सदभावना प्रवेश गर्नुभएको थियो ।
‘म सिराहको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु,’ उहाँले लेख्नुभएको छ ।
सिराह १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरी विजयी हुनुभएको थियो । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप गिरी सोही क्षेत्रबाट विजयी हुँदै आउनु भएको थियो । उहाँको केही दिनअघि मृत्यू भएको थियो ।













प्रतिक्रिया दिनुहोस्