जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार २०:३१

निर्णायक तहमा पहुँच बनाउन महिलाले दलभित्र कहिलेसम्म संघर्ष गर्नुपर्ने : नेतृ गिरी


सप्तरी, २१ भदौ । निर्णय गर्ने ठाउँमा पहुँच नभएको कारण महिलाको अर्थपूर्ण सहभागिता नहुने गरेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । उनीहरूले सबै दलमा गुट उपगुट कायम रहेको र गुटको निर्णय सबैले मान्नुपर्ने बाध्यताका कारण महिला राजनीतिक दलको निर्णायक तहमा पुग्नबाट वञ्चित रहँदै आएको गुनासो पोखेका छन् ।

महिला महासंघ र संकल्प नेपालको सहयोगमा परिकल्पना नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्ध छलफल कार्यक्रममा विभिन्न दलबाट सहभागी महिला नेतृहरूले निर्णायक ठाउँमा महिला पुगे प्रत्यक्ष चुनावमा टिकट लिएर प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् ।

प्रतिनिधिसभा सदस्य सरिता गिरीले निर्णय गर्ने स्थानसम्म पहुँच बनाउन महिलाले आ–आफ्नो दल भित्र संघर्ष गर्नुपर्ने बताउनुभाये । ‘संघर्ष नगरे केही उपलब्धि हुँदैन, तर त्यससँगै सबल र सचेत बन्नुका साथै शिक्षित एवं क्षमतावान् पनि बन्नु जरुरी छ,’ उहाँले भन्नुभयो । मधेस प्रद्रेशका प्रदेशसभा सदस्य गीता यादवले सम्पत्तिको अधिकार नभएसम्म निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता नहुने बताउनुभयो ।

उहाँले आउने चुनावमा आ–आफ्नो दलभित्र संघर्ष गरेर प्रत्यक्षमा चुनाव लड्न महिलाहरूलाई आग्रह गर्नुभयो । राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत प्रवीणले महिलाको अर्थपूर्ण सहभागिताको लागि पहिला आफै आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । ‘तपाईंमा क्षमता छैन भने पार्टीले किन टिकट दिएर उम्मेदवार बनाउँछ ?’ उहाँले प्रश्न गर्नुभयो । महिलाहरूलाई शिक्षा र क्षमता विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य मुन्नी गुप्ता, कृष्णासवरण गाउँपालिकाका पूर्व उपाध्यक्ष मिना चौधरी, जनमतका पार्टीका ममता झा, लोसपाका पुनम यादव, अधिवक्ता मनु खनाल, नेकपा माओवादीका रुवी झा, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पार्वती राउत सहितका महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा आफ्नो विचार राख्नुभएको थियो ।