जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १८:१२

पूर्वमन्त्री किसान श्रेष्ठको फण्डा, बिदेश पठाउने भन्दै भोट किन्न बारा ४ का युवाहरुलाई उम्म्मेदवारकै ब्यानरमा अन्तवार्ता


बारा, असोज ३० । पूर्वश्रम मन्त्री किसान श्रेष्ठ (कृष्णकुमार) ले निर्वाचन आचार संहितालाई धज्जी उडाउनु भएको छ । वैदेशिक रोजगारीमा जाने युवाको प्रि अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री श्रेष्ठले निर्वाचन आचारसंहिताविपरीत मतदाता प्रभावित पार्ने हर्कत गर्नुभएको हो ।

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार श्रेष्ठले परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतवार अन्तर्वार्ता राख्न लगाउनु भएको थियो । श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशनबमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा अन्तर्वार्ता राखेको हो ।

दुई दिनसम्म चल्ने उक्त अन्तर्वार्ता लिने स्थानमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसक्नु भएका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गर्नुभएको हो ।

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्वश्रममन्त्री श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशनबमोजिम अन्तर्वार्ता राखिएको बताउनु भयो । शर्माका अनुसार प्रि अन्तर्वार्तामा छनौट भएकाहरूलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाडौंमा बोलाइने र तीन महिनाको प्रक्रियापछि मलेसिया पठाइने जनाएको छ । मलेसिया पठाउने बहानामा मतदातालाई प्रभावित पारी मत लिन यस्तो हर्कत गरिएको हो ।

फ्रि भिसा फ्रि टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले ७५० जना कामदार माग गरेको सूचना निकालेको थियो । सोही सूचनाबमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनि अन्तर्वार्ता राखिएको हो ।