जनता टाइम्स

७ कार्तिक २०७९, सोमबार १२:२३

‘जिरीको समृद्धिका लागि ‘ग्रीन, क्लिन र अर्ग्यानिक जिरी’ अभियान तीव्र पारिनेछ’


दोलखा, ७ कात्तिक । नेकपा एमालेका तर्फबाट दोलखा निर्वाचन क्षेत्र प्रदेश (क)का उम्मेदवार नरबहादुर श्रेष्ठले नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरीलाई विशेषगरी पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ ।

जिरीलाई पर्यटकीय हबका रूपमा विकास गर्न एमालेकै नेतृत्वमा आवश्यक पूर्वाधार विकासको काम अगाडि बढिरहेकाले त्यो काम एमालेकै नेतृत्वमा सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी कार्यकालमा जिरी विमानस्थल सुचारु गरी जिरीलाई पर्यटकीय हबका रूपमा प्रवर्द्धन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा आइतबार जिरी पुग्नुभएका उम्मेदवार श्रेष्ठले जिरीमा विमानस्थल सञ्चालन नगरी पर्यटकीय गन्तव्य बनाउन नसकिने धारणा व्यक्त गर्नुभएको हो ।

‘यो कृषि फार्मको रूपमा नापी भएको जग्गालाई एयरपोर्टका लागि ल्याउने प्रण गरौँ, हाम्रो पार्टी नेकपा एमाले सरकारमा हुँदा होस् वा नहुँदा होस्, मैले सांसद जितुँ वा नजितुँ जिरी एयरपोर्ट बनाउने प्रण गर्दछु । यो नबनाइकन जिरीको विकास हुँदैहुँदैन । किनभने अहिले भइरहेको हेलिप्याडले मात्रै यहाँको चाप थेग्न सकिरहेको छैन । त्यसैले जिरीको उन्नती र प्रगतिका लागि एयरपोर्ट नबनाइ हुँदैहुँदैन,’ उहाँले भन्नुभयो ।

पर्यटकीय नगरी जिरीको विकास र समृद्धिका लागि ‘ग्रीन, क्लिन र अर्ग्यानिक जिरी’ अभियानलाई तीव्र पारिने पनि उहाँले बताउनुभएको छ । जिरीका निवर्तमान मेयर टंक जिरेलले अगाडि सार्नुभएको उक्त अभियानलाई आफूहरू निर्वाचित भएपछि पनि तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

उम्मेदवार श्रेष्ठले निवर्तमान मेयर जिरेलले गर्नुभएका कामहरूको उच्च प्रशंसा गर्दै जिरेलले अगाडि बढाउनुभएका विकासका योजना र अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

‘टंकबहादुर जिरेल पहिलो मेयरका रूपमा जिरीमा रहनुभयो । उहाँले विकासको खाकाहरू कोर्नुभयो र जिरीको विकासका लागि धेरै कामहरू गर्नुभएको छ,’ उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘ग्रीन जिरी, क्लिन जिरी र अर्ग्यानिक जिरी भनेर जुन मुभमेन्ट उहाँले चलाउनुभएको छ । यसलाई अहिलेको मेयरसापले पनि निरन्तरता दिनुपर्छ । हामी संघ र प्रदेश सभामा निर्वाचित भइसकेपछि यसलाई जहिले पनि बढावा दिने प्रण गर्दछौँ । व्यक्तिगत रूपमा पनि यो अभियानलाई सघाउन कुनै कसर बाँकी राख्ने छैन ।’

यस्तै जिरी टेक्निकल स्कुल (जिरी प्राविधिक शिक्षालय) जिरीको अर्को आकर्षणको थलो भएको बताउँदै उहाँले त्यसलाई शैक्षिक हबका रूपमा विकास गरिने बताउनुभएको छ । जिल्लाबाहिरका विद्यार्थीहरूलाई आकर्षण गर्नेगरी त्यसको विकास गरिने उहाँको योजना छ ।

‘जिरी टेक्निकल स्कुल जिरीको अर्को आकर्षणको थलो हो । गरिब जनताका छोराछोरीले पढ्ने ठाउँ हो । त्यसकारण यो टेक्निकल स्कुल यहाँको समृद्धिको आन्दोलनलाई टेवा दिने चिज हो । मैले सांसद जितेपछि देशभरीकै आकर्षणको थलो बनाएर जिरीलाई आर्थिक रूपमा समृद्ध पार्नेगरी कामको नेतृत्व गर्ने प्रण गर्दछु, प्रतिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।

त्यस्तै उहाँले जिरी अस्पतालको सेवाप्रवाहलाई गुणस्तर र प्रभावकारी बनाउने, जंगल र जडिबुटीको समुचित प्रयोग र सदुपयोग गरिने, सामुदायिक विकास, पर्या–पर्यटन, व्यवस्थित बजार र जनजीवीकाका कुरालाई एमालेले विशेष ध्यान दिएर काम गर्दै आएको र आगामी दिनमा त्यसलाई थप उन्नत बनाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

समग्रमा उहाँले जिरीलाई एजुकेशन हब, टुरिजम हब र अर्ग्यानिक हबको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । देखिने र देखाउनेगरी काम गर्ने योजना र प्रतिबद्धतासहित अगाडि बढेको नेकपा एमाले दोलखाका उम्मेदवारहरूले गठबन्धनलाई पराजित गरेरै छोड्ने उहाँको भनाइ छ