जनता टाइम्स

२७ कार्तिक २०७९, आईतवार १७:२०

महिला अधिकारकर्मीको उदघोष : महिला सशक्तिकरणमा ध्यान दिनेलाई दिइन्छ भोट


बुटवल, कात्तिक २७ । महिलाका मुद्दामा अधिकांश दलहरु सचेत नभएकाले अब महिला सशक्तिकरणमा ध्यान दिनेहरुलाई मत दिने अधिकारकर्मीहरुले बताएका छन् । देशका हरेक परिवर्तनसँगै हरेक चरणका निर्वाचनका प्रचारमा महिलाको सक्रियता बढी हुने गरेकाले यसको मूल्यांकन हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी बुटवल १३ ले आयोजना गरेको महिला भेला तथा मतदाता शिक्षा कार्यक्रमका सहभागीले महिलाका मुद्दामा अधिकांश दलहरु गम्भीर नदेखिएको गुनासो गरे । अन्य दलका तुलनामा नेकपा एमालेले महिला हक र अधिकारलाई जोड दिँदै आएकाले यो निर्वाचनमा एमाले उम्मेदवारको पक्षमा मतदान गर्ने उनीहरुको भनाइ छ । देशमा भएका पटकपटकका आन्दोलनले व्यवस्था परिवर्तन भए पनि अब महिलाको अवस्था परिवर्तन गर्न प्रतिबद्ध दलका उम्मेदवारलाई भोट हाल्ने महिलाहरुले बताए ।

भेलामा रुपन्देही क्षेत्र नम्बर २(ख) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले निर्वाचनको प्रचारमा महिला सहभागिता र सक्रियताको प्रशंसा गर्नुभयो ।
उहाँले पार्टी सधैँ महिला हक र अधिकारका लागि प्रतिबद्ध रहेको बताउँदै उहाँले अबका दिनमा पनि सशक्तिकरणका कार्यक्रम ल्याउने बताउनु भयो । राजनीतिप्रतिको वितृष्णा हटाउन प्रतिबद्धता अनुसारका काम गर्ने उहाँको भनाइ छ । ‘अरु पार्टीको पनि हामीप्रति सदासयता छ, हामी सबैलाई समेटेर अघि बढ्छौं,’ श्रेष्ठले भन्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज गुमादेवी आचार्यले मंसिर ४ को निर्वाचन एउटा युद्ध भएकाले जसरी पनि जित्न जरुरी रहेको बताउनु भयो । एमालेले जिते मात्रै परिवर्तका लागि भएका आन्दोलनका उपलब्धि जोगिने भएकाले सचेत भएर पार्टी हितका लागि अझै सक्रिय भएर लाग्न महिलाहरुलाई आव्हान पनि गर्नुभयो ।

प्रदेशसभाका समानुपातिक पदका उम्मेदवार जानकी घिमिरेले सधैँ महिलाको पक्षमा आवाज उठाउँदै आएकाले आफू निर्वाचित भएपछि सदनमा अझै गम्भीर ढंगले प्रस्तुत हुने बताउनु भयो । उहाँले महिलाको नेतृत्व र व्यक्तित्व विकासका साथै घरेलु श्रमको मूल्याकंन गर्न राज्यलाई घचघयाउने प्रतिबद्धता जनाउनु भयो ।

प्रदेश सभाका समानुपातिक उम्मेदवार ज्ञानु केसीले महिला सशक्तिकरणमा जोड दिनुका साथै सीप र आर्थिक उपार्जनमा महिलालाई जोड्ने कार्यक्रम लिएर आउने प्रतिवद्धता जनाउनु भयो । उहाँले हिंसा र विभेद रोकथामका महिलाहरुको प्रतिनिधिमूलक पात्र बनेर काम गर्ने बताउनु भयो । ‘हिजोका दिनमा ब्यवस्था बदल्न लाग्यांै अब अवस्था बदल्न लाग्नेछु,’ उहाँले भन्नुभयो । प्रदेश सभाका समानुपातिक उम्मेदवार रेवती घलेले संविधानमा महिला हक र अधिकारका पक्षमा उल्लेख भएका विषय कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बताउनु भयो ।

प्रदेश सभा समानुपातिक उम्मेदवार एजाज आलमले सबै वर्गको हितमा काम गर्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनु भयो ।उहाँले पछिल्लो समय बढ्दो बेरोजगारी र महंगीले जनता आत्तिएको बताउँदै यी समस्याबाट छुटकारा पाउन पनि एमाले उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । अर्का प्रदेश सभा समानुपातिक उम्मेदवार कुमार थापाले सबै जाति र वर्गको पक्षमा काम गर्ने पार्टी नेकपा एमालेको पक्षमा मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । ‘काम गर्न निर्वाचनबाट चुनिनुपर्छ त्यसका लागि विवेक पुराएर एमाले उम्मेदवारलाई छानौं,’ उहाँले भन्नुभयो ।

भेलामा मतदाता शिक्षाबारे जानकारी गराउँदै पार्टीका प्रदेश प्रचार विभाग प्रमुख एवम् प्रदेश कमिटी सदस्य डिआर घिमिरेले जनताका बीचमा जाँदा नरम भएर सहि ठाउँमा छाप लगाउन सिकाउनुपर्ने बताउनु भयो । प्रदेश कमिटी सदस्य कृष्ण कुँवरले मतदानका क्रममा कतिपय ज्येष्ठ नागरिकले ल्याप्चे लगाएर हिंड्ने गरेको पाइएकाले सबैलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन परिचालन कमिटीका वडा संयोजक मधुकला कुँवरले अन्य पार्टीको तुलनामा एमालेले महिला सहभागिता र सशक्तिकरणमा जोड दिएकाले यो निर्वाचनमा सबै महिलाको साथ र सहयोग रहने बताउनु भयो ।