काठमाडौं, मंसिर १९ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्दा मन्त्री खानका लागि उहाँ सो पार्टी प्रवेश गर्नुभएको हो ।
एमालेबाट गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनिसकेका गुरुङले आज सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताउनु भएको छ ।
सार्वजनिक तस्बिरमा माला लगाएका मनाङे अध्यक्ष नेपालसँग हात मिलाउँदै गरेको अवस्थामा देखिनुभएको छ । उहाँले आफू उक्त पार्टीमा प्रवेश गर्नुको कारण समेत उल्लेख गर्दै विज्ञप्ति जारी गर्नुभएको छ ।
मनाङेले आफ्नो विज्ञप्तिमा लेख्नुभएको छ, ‘ मेरो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक दलहरूमध्ये नेकपा एकीकृत समाजवादी पार्टीको रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्गनिर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।’
गण्डकीमा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एक सिट पनि जितेको छैन । गण्डकीमा समानुपातिकतर्फ पनि नेकपा एसले थ्रेसहोल्डसमेत कटाएको छैन । अध्यक्ष माधव नेपालसँग मन्त्री बन्ने सहमति गरेपछि उहाँ पार्टी प्रवेश गर्नुभएको बताइएको छ ।
२०५७ सालमै नेकपा एमालेमा आउन चाहेका मनाङेलाई गुण नाइके भन्दै माधवले प्रवेशमा रोक लगाउनु भएको थियो । त्यसबेला अनेरास्वबियूका केन्द्रीय सदस्यको हैसियतमा एमालेमा आउन तयार मनाङलाई २२ बर्षपछि माधवले मन्त्री दिने गरी भित्र्याउनु भएको हो । स्वतन्त्र नै रहँदा मन्त्री नहुने भएपछि मनाङे पनि नेकपा एस प्रवेश गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्