जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १५:३८

हारको ह्याट्रिकपछि समानुपातिकबाट सांसद बने ८१ बर्षीय जवरा


काठमाडौं, मंसिर २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बरिष्ठ नेता पशुपति शमशेर जबरालाई समानुपातिकतर्फबाट सांसद बनाउने निर्णय गरेको छ ।

क्लस्टर मिलाएर निर्वाचन आयोगमा समानुपातिक सूची तयार गर्ने क्रममा प्रतिनिधि सभाको समानुपातिकतर्फ पुरूषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको हो ।

शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दोस्रो पुरूषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिएको छ । राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ ७ सीट पाएको छ । त्यसमध्ये ५ जना महिला र २ जना पुरुषको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने छ ।

राप्रपाले सामानुपातिक सांसद बनाउने निर्णय गरेको नेता पशुपति लगातार तेस्रो पटक चुनाव हार्नुभएको थियो । २०६४ को संबिधानसभादेखि दोस्रो संबिधानसभा र २०७४ को निर्वाचनमा उहाँ सिन्धुपाल्चोक १ बाट पराजीत हुनुभएको हो । ८१ वर्षीय जवरा यस पटक भने राणाले प्रत्यक्ष उम्मेदवार बन्ने रुची नदेखाई समानुपातिकबाट संसद छिर्न लाग्नुभएको हो ।