जनता टाइम्स

२९ मंसिर २०७९, बिहीबार १३:२३

पाँच महिनादेखि अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु


बाँके, २९ मंसिर । बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलेसिस सेवा पुनः सुचारु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो । नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ ।

उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले बताउनुभयो । उहाँका अनुसार बिरामीहरूको संख्या दिनहुँ बढ्दै गएको तथा बिरामीहरुलाई निकै समस्या भएकाले अहिले अस्पताललेले डायलेसिस सेवा सुरु गरेको हो ।

डायलेसिसका केही मेसिन बिग्रेकाले उक्त मेसिन पनि मर्मत गरी सेवामा ल्याउने उहाँको भनाइ छ । जबकि ६ वटा मेसिन सेवाका लागि सञ्चालनमा ल्याइएको कर्मचारी संगठनका निवर्तमान सभापित कुश्माखर बस्यालले जानकारी दिनुभयो । कुश्माखरका अनुसार डायलेसिस सेवाका लागि ल्याइएको मेसिनले बिरामीहरूलाई निकै राहत दिनेछ ।