जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १६:४६

‘नांगो गाउँ’ बनाउँदै दीपेन्द्र लामा, दयाहाङ र मिरुनाको जोडी


काठमाडौं, १५ पुस । फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गर्नुभएको छ । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्धित हुनुभएको छ । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हो । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ ।

मिरुना र दयाले यसअघि यो वर्षको ब्लक बस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गर्नुभएको थियो । निर्देशक लामाका अनुसार फिल्ममा अन्य कलाकार छनोट चरणमा हुनुहुन्छ । उहाँले फिल्ममा दयासँगै अर्का एकजना अभिनेताको पनि मुख्य भूमिका रहने खुलाउनुभयो । राजनीतिक कथावस्तुमा आधारित फिल्मको छायांकन चैतबाट सुरु हुनेछ ।

‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यंग्य गर्ने तयारी गरेका छौं । फिल्ममा दर्शकले हाँस्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन्,’ उहाँले भन्नुभयो । लामाले यसअघि घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।