जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १७:३६

उपेन्द्र यादवले जितेर देशको विकास हुँदैन : अध्यक्ष ओली


बारा, २२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा-२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गर्नुभएको छ । आज बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा-२ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘नेकपा एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क र सचेत रहनुहोला । वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ । जात/जात भनेर गरिने प्रेम झुटो हुन्छ । उपेन्द्र यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’

उपेन्द्र यादवले जिते देशको विकास नहुने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यादवज्यू मोरङ, सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला । उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ?’ अध्यक्ष ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताउनुभयो ।