जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार २१:१७

संसदभवन अगाडि फेरि आत्मदाह प्रयास


काठमाडौं, २५ चैत्र ।  काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास प्रयास भएको छ । संसद भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ ।

आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन । प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए।काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताउनुभयो ।

५०/५१ वर्ष उमेरका ती व्यक्ती आफू पारिवारिक तनावमा रहेका कारण उक्त निर्णयमा पुगेको सोधपुछका क्रममा बताएका छन् । उनले भक्तपुरमा आफू एक्लै बस्ने गरेको बताएका छन् ।

‘उनी भक्तपुरमा के गर्दै बसिरहेका थिए भन्नेबारे अहिले केही खुल्न सकेको छैन । तर आत्मदाह प्रयास पछाडिको कारण चाहीँ पारिवारिक तनावजस्तो देखिन्छ’, ती अधिकारीले भने ।

संसद भवन परिसरको सुरक्षामा खटिएको प्रहरीले पेट्रोल छर्किरहेको अवस्थामा ती व्यक्तीलाई उद्दार गरेको थियो । स्रोतका अनुसार आफ्नो शरिरमा पेट्रोल छर्किरहेको देखेपछी नजिकै ड्युटीमा रहेको प्रहरी तत्कालै पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।

यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।