काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको टिप्पणी गर्नुभएको छ ।
कोइरालाले महानगर प्रमुख बालेन शाहको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार पनि सच्चिनुपर्ने बताउनु भयो । ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ,’ कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभएको छ ।
उहाँले सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्न नमिल्ने बताउनु भयो । ‘अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो। दुवै सच्चिनु पर्छ,’ कोइरालाले भन्नुभयो ।
सरकार र काठमाडौं महानगर प्रमुखबीच पछिल्लो समय टकराब देखिएको छ। मेयर शाहले आज मात्रै काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्न चुनौती दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्