जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १०:०९

आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु


मोरङ, बैशाख २९ । विराटनगरमा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कुपी (टुकी)बाट मट्टितेल खन्याएर शरीरमा आगो लगाएकी महानगरपालिका–१० तीनटोलिया निवासी ४० वर्षीया आशा शर्मा (कोइरी)को मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले दिनुभएको जानकारी अनुसार पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि गत बुधबार राति ९ बजेतिर आशाले मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएकी थिइन ।

आगोले शरीरका अधिकांश भाग जलेकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भोलिपल्ट अर्थात बिहीबार साँझ ७ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आशाको मृत्यु भएपछि पति राजकुमारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।