जनता टाइम्स

३० जेष्ठ २०८०, मंगलवार २१:२०

प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ


जनकपुरधाम, ३० जेठ । धनुषा प्रहरीले ४५ वर्षीया महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले मण्डलको लोकेसन चितवनको हाकिम चोक देखिएकोमा जिल्ला प्रहरी कार्यालय, चितवनसँग समन्वय गरेर युवकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमान्‌को मृत्युपश्चात युवक र उनी प्रेम सम्बन्धमा रहेकोमा महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषा प्रहरीको भनाइ छ । आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी–८ तारापट्टीस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत बिहीबार राति ११ बजे बिहेकै विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा समातेर घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिलाको मृत्युपश्चात युवकले पोखरीको छेउमा खाल्डो खनेर शव गाडेका थिए। महिलाको कपडासमेत खोली सोही पोखरीको अर्को छेउमा गाडेर महिलाले प्रयोग गरेको मोबाइल पोखरीमै फालेर युवक फरार भएका थिए ।