जनता टाइम्स

१० भाद्र २०८०, आईतवार १७:४१

नरहा गाउँपालिका अध्यक्ष यादवको निर्देशनमा विद्यालयको भवन निर्माण कार्य अवरुद्ध


सिरहा, १० भदौ । सिरहाको नरहा गाउँपालिका–५ बर्छवास्थित जनता बनबाली माध्यामिक विद्यालय (प्राविधिक) कार्यालय भवन निर्माण कार्य अवरुद्ध भएको छ । राजनीतिक प्रतिशोधका कारण गाउँपालिका अध्यक्ष रामप्रमोद यादवमाथि निर्माण कार्य अवरुद्ध गरेको आरोप छ ।

जनता बनबाली माध्यामिक विद्यालय (प्राविधिक) को नमुना गुरु योजनाअनुसार सबै रीत पुर्याएर निर्माण कार्य भइरहेको कार्यालय भवनमा गाउँपालिका अध्यक्ष यादवले राजनीतिक प्रतिशोधका कारण निर्माण कार्यमा रोक लगाएको विद्यालयका प्रधानाध्यापक राम ईश्वर यादवले आरोप लगाउनुभएको हो ।

जनप्रतिनिधिले नै पास गरेको नमुना गुरुयोजनाअनुसार तोकिएकै ठाउँमा सबै प्रक्रिया पुर्याएर ठेकेदार कम्पनीमार्फत् भवन निर्माणकार्य भइरहेका बेला राजनीतिक प्रतिशोधका कारण निश्चित व्यक्तिहरुले गरेको अवरुद्धलाई बल पुग्नेगरी गाउँपालिका अध्यक्ष यादवले ठाडो आदेश गरि निर्माण कार्यमा रोक लगाएका छन् ।

विद्यालयको आम भेला र विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालयको नमुना गुरुयोजनामा उल्लेख भएको ठाउँमै भवन निर्माण गरेको भए पनि व्यक्तिगत र राजनीतिक प्रतिशोधका कारण निर्माण कार्यमा अवरुद्ध गरेको विद्यालयका प्रधानाध्यापक रामईश्वर यादवको आरोप छ ।

‘अघिल्लो पटकको कार्यपालिकाबाट नमुना विद्यालय गुरुयोजना पारित भएको हो, सोही योजनाअनुसार नमुना विद्यालय स्वीकृत भई योजनाहरु परेका हुन् । सोही योजनाअनुसार काम भईरहेको छ। सबै प्रकृया पुर्याएर निर्माण कार्य हुँदाहुँदै निश्चित व्यक्तिको वहकाबमा पालिका अध्यक्षले समेत लिखित रुपका रोक्का गर्न आदेश गरिएको हो,’ उहाँले थप्नुभयो, ‘प्रशासनिक काममा पनि गाउँपालिका अध्यक्षले राजनितिक हस्तक्षेप गर्नु दुखद् हो ।’

कार्यालय भवनको जगको निर्माणकार्य भइरहेकै बेला पूर्व गाउँ पालिका अध्यक्ष रामशरण यादवसहित व्यक्तिहरुले निर्माण कार्य अवरुद्ध गरेका थिए । उनीहरुलाई नै बल पुग्नेगरी वर्तमान गाउँ पालिका अध्यक्ष रामप्रमोद यादवले गत साउन २४ गते विद्यालयको नाममा ‘प्रस्तुत विषयमा तहाँ विद्यालयमा निर्माणाधीन भवनको सम्बन्धमा विवाद रहेको हुँदा विवाद समाधान नहुन्जेलसम्मको लागि निर्माणकार्य रोक्का राख्नु हुन जानकारी गराइन्छ’ भन्ने व्यहोराको पत्र पठाएका छन् ।

निर्माणकार्य किन रोक्का गराएको भनि अध्यक्ष यादवसँग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो, ‘भवन निर्माणको विषयमा विवाद छ । विवाद झडपमा परिणत हुने सम्भावना देखेर मैले तत्काल निर्माण कार्य रोक्न भनेको हुँ ।’ उहाँले पूर्वअध्यक्षले शिलान्‍न्‍यास गरेको ठाउँमा नबनाई प्रधानाध्यापकले मनपरी तरिकाले निर्माण कार्य गरेकोले समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रधानाध्यापकले पहिला शिलान्‍न्‍यास भइसकेको ठाउँमा निर्माण नगरेर अन्यत्रै निर्माणकार्य गरेको छ । त्यही विषय अहिले विवादको जड बनेको छ ।’