जनता टाइम्स

१२ भाद्र २०८०, मंगलवार १९:१७

सिन्धुलीबाट २० किलो अवैध चाँदीसहित दुई जना पक्राउ


सिन्धुली, १२ भदौ । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाँखर्कबाट आज २० किलोग्राम अवैध चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी गढीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको कारकोमा लुकाई छिपाई राखेको २० किलोग्राम अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको हो ।

बरामद गरिएको चाँदीको हालको मूल्य २४ लाख ६१ हजार ७६० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–५ बस्ने रोहीत कुमार यादव र सप्तरीको राजविराज नगरपालिका–८ घरभई विराटनगर महानगरपालिका–४ बस्ने ३७ बर्षका शेचन मानन्धर रहेका छन् । नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिनुभयो ।