जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १७:४५

संगठन निर्माणमा आक्रामक बन्यो अखिल रामेछाप


काठमाडौं, २१ भदौ । नेकपा एमालेको प्रमुख जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रामेछापले संगठन निर्माण र विस्तारलाई तीव्रता दिएको छ । माध्यमिक विद्यालयहरुमा प्रारम्भिक कमिटी गठन उच्च माध्यमकि तहमा क्याम्पस कमिटी गठनको कामलाई अखिल रामेछापले तीव्रता दिएको हो ।

अनेरास्ववियू रामेछापका संयोजक मदन खड्काका अनुसार हालसम्म ५९ वटा विद्यालयहरुमा कमिटी गठन गरिएको छ । जिल्लाका ८ वटै पालिकामा विद्यालय स्तरीय कमिटी गठन र संगठन निर्माणको काम तीव्र रुपमा भइरहेको संयोजक खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्थली नगरभित्रका १९ वटा, खाँडादेवी गाउँपालिका भित्रका १२ वटा, दोरम्बा शैलुङ गाउँपालिका भित्रका ४ वटा र सुनापति गाउँपालिका भित्रका २ वटा विद्यालयमा कमिटी निर्माण गरिएको छ । त्यस्तै, रामेछाप नगरपालिका भित्रका ९ वटा, लिखु तामाकोशी गाउँपालिका भित्रका ९ वटा, गोकुलगंगा गाउँपालिका भित्रका ७ वटा उमाकुण्ड गाउँपालिका भित्रका ४ वटा विद्यालयमा अखिल रामेछापले कमिटी गठन गरेको छ ।

‘अहिले अनेरास्ववियू रामेछाप जुरुक्क उठेको अवस्था छ, शैक्षिक मुद्दाहरुमा बसह पैरवी गर्नेदेखि विद्यार्थी हकहितका विषयहरुमा केन्द्रित रहेर अभियान चलाइरहेका छौँ’ संयोजक खड्काले भन्नुभयो, ‘रचनात्मक क्रियाकलापमा पनि हामी केन्द्रित छौँ, क्याम्पसहरुमा पनि हाम्रो अभियान अघि बढेको छ ।’

भदौ २९ र ३० गते अखिल रामेछापले ‘प्रथम अखिल महोत्सव’ को आयोजना गरेको छ । अनेरास्ववियू रामेछापले ‘प्रथम अखिल महोत्सव’को तयारी तीव्र पारेसँगै संगठन बलियो हुँदै गएको हो । महोत्सवसँगै अनेरास्ववियू रामेछापको अधिवेशन पनि हुँदैछ ।