जनता टाइम्स

२३ भाद्र २०८०, शनिबार १७:२०

सर्लाही सदरमुकाम मलगंवामा आज साँझ देखी कर्फ्यु


सर्लाही, २३ भदौं । सर्लाही सदरमुकाम मंलगवामा कर्फ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।

सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायरसमेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कर्फ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिनुभयो । यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।