काठमाडौं, भदौ ३१ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ स्थित लिपिकोट टुसालमा नयाँ ५ लाख लिटर खानेपानी ट्यांकी निर्माण सम्पन्न भएलगत्तै पाईपलाईन बिस्तारको काम तीब्र बनेको छ ।
पासिकोट खानेपानीले बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ स्थित लिपिकोट टुसालमा नयाँ ५ लाख लिटर खानेपानी ट्यांकी निर्माण सम्पन्न गरेपछि त्यहाँबाट पाईपलाईन बिस्तार गर्ने कामलाई तीब्रता दिएको हो । उपमेयर अनिता लामाका अनुसार बुढानीलकण्ठ नगरपालिका ४ वडालाई लक्षित गरेर यो काम अघि बढाइएको हो ।
लामाले खानेपानी सेवा बिस्तारको लागि थापागाउँ, पहेंलो शिव मन्दिर, श्रीरामचोक, कान्तिपुर कोलोनी, तल्लो पासिकोट, राष्ट्रिय चोक, मगरटोल, कुवामार्ग, गैरीपाखा टोलसम्म पाइपलाइन बिस्तार हुने र यो पाइपलाइन बिस्तारपछि ६ वडाका केही घरधुरी सहित करिब ४०० घरधुरीले खानेपानी सेवा प्राप्त गर्ने बताउनु भयो ।
२०६२ सालमा पानीको स्रोत र पानी खुवाउनसक्ने सबै अवस्थितिको परीक्षण गरेर आधारहरु बनाउँदै २०६४ सालबाट बुढानीलकण्ठ पासिकोटबासीलाई खानेपानी सेवा वितरण शुरु गरिएको यो खानेपानी सेवा यो भेगको जेठो समिति हो ।
लामाका अनुसार यो अभियानमा प्रारम्भिक अवस्थादेखि हालसम्म पनि समाजसेवी कैलाश खड्काको विशेष नेतृत्व र पहलकदमी रहेको छ । हालसम्म ८ सय भन्दा वढी घरधुरीले यो खानेपानी सेवा उपभोग गर्न पाइसकेको जानकारी पनि उहाँले दिनुभयो ।
‘अब नयाँ घरधुरीलाई नगरपालिकाको नियमन र समन्वयमा खानेपानी सेवा उपलब्ध हुनेछ,’ उपमेयर लामाले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाभित्रको शिवपुरी निकुञ्जको जंगलभित्रको प्राकृतिक स्रोत नै यो खानेपानीको मूल स्रोत हो ।
निकुञ्ज तथा विभिन्न स्थानमा खानेपानीको अन्य स्रोतको पहिचान तथा व्यवस्थापनमा बुढानीलकण्ठ नगरपालिका लागिरहेको पनि उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्