जनता टाइम्स

१५ कार्तिक २०८०, बुधबार १८:२४

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ


काठमाडौं, १५ कात्तिक । काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो ।

उता ललितपुरको गोदावारी नगरपालिका–१० टाखेल पानी ट्‍याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका–१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।