जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार १५:१७

सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूको सेवा नै ठप्प पार्ने चेतावनी


सिरहा, २२ कात्तिक । सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् । आर्थिक वर्ष २०७९र८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यदेश दिनुपर्नेलगायतका माग सात दिनभित्र सम्बोधन नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका हुन् ।

वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आफूहरूको माग सम्बोधन नभए सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिनाअघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताउनुभयो ।

उहाँले नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको आरोप लगाउनुभयो । ‘हामीले ताली ठोकेर गाउँपरिषद् गरिदिएका छौं । कार्यक्रमहरू बनेको छ ।

कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो ? हामीलाई तत्काल कार्यादेश चाहिन्छ,’ उहाँले भन्नुभयो । उनीहरूले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए पालिका कार्यालयको गेटमै बसेर सेवा ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चालन गर्ने बताउनुभयो ।