जनता टाइम्स

४ माघ २०८०, बिहीबार १३:०८

कति फरार प्रतिवादी पक्राउ परे रौतहटमा ?


रौतहट, ४ माघ । लामोसमय देखि फरारको सूचीमा रहेका अभियुक्त मध्ये यस आर्थिक वर्षमा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ । बिभिन्न अपराधमा संलग्नरही अदालतबाट दोषीठहर भईसकेर पनि फरारको सुचिमा रहेका अभियुक्त मध्ये चालू आर्थिक बर्ष २०८०/०८१ मा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने लक्ष्य सहित बिशेष अभियान सञ्चालन गरिएको रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताउनुभएको छ ।

बिशेष अभियान अन्तर्गत यस आर्थिक बर्षको गत साउन देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा बिभिन्न प्रकृतिका मुद्दामा संलग्न २८० जना फरार अभियुक्त पक्राऊगरी कारवाहीको दायरामा ल्याएको एसपी श्रेष्ठले बताउनुभएको छ । कर्तब्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबर्जस्ती करणी, ठगी, लगायत बिभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाईएको एसपी श्रेष्ठले जानकारी दिनुभएको छ ।

अदालतले दोषी ठहर गरेपछि आ–आफ्नो घर छोडी रौतहटको बिभिन्न स्थानमा लुकिछिपी बसेका तथा अन्य जिल्लामासमेत बसेका ती अभियुक्तलाई जिल्लाको सम्पूर्ण युनिटलाई परिचालन गरी पक्राउ गर्न सफल भएको एसपी श्रेष्ठको भनाई छ । ८०० जना फरार अभियुक्त लाई पक्राउ गर्ने लक्ष्य पूरा गर्न हाल रौतहट, छिमेकी जिल्लाहरुका साथै सीमावर्ती भारतीय क्षेत्र समेत निगरानी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।