जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार १५:५९

इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजनाको शुभारम्भ, तीन प्रदेशको ९ स्थानिय तहमा सञ्चालन


चितवन, ९ फागुन । इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभएको छ । आज भरतपुरमा आयोजित एक भब्य कार्यक्रमको बिच सो परियोजनाको समुदघाटन गरिएको हो । कार्यक्रममा इयुका सहकारिता उप–प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उद्घाटन गर्नुभएको हो ।

ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३/३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्ष सम्म संचालन हुनेछ । यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ । मन्त्री खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि संस्थाले गरेको सामूहिक प्रयासको प्रशंसा गर्नुभयो ।

उहाँले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै परियोजनालाई पुर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्ने बताउनुभयो । त्यस्तै, कार्यक्रमका नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप–प्रमुख अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नुपर्ने बिषयमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो । तीन प्रदेशको ९ स्थानिय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर छु ।’ त्यस्तै पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको शुरुवात राम्रो लागेको बताउँदै आफूले अब सकारात्मक परिणाम हेर्न आतुर रहेको बताउनुभयो ।

क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट–जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बांकी नराख्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराउनुभएको थियो । उहाँले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्यलगायत विषयवस्तुको सार प्रस्तुत गर्नुभयो । यसैगरी इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कबीररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिकाबारे बिचार ब्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिनुभयो । कार्यक्रममा परियोजना संचालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिनुभयो ।