जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १८:५४

बागमती सरकारबाट बाहिरियो कांग्रेस


हेटौंडा, २३ फागुन । बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । आज मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाउनुभएको हो ।

जसअनुसार कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा गत चैत २५ गते नियुक्त हुनुभएको थियो भने स्वास्थ्य मन्त्री जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री महर्जन, वन मन्त्री मसिना खड्का र उद्योग वाणिज्य तथा प्रशासन मन्त्री चित्रकार गत जेठ ७ गते मन्त्री नियुक्त हुनुभएको थियो ।