जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार १४:२३

नेपाली उत्पादनलाई संरक्षण गर्ने गरी करका दर चलाएका छौं : अर्थमन्त्री पुन


काठमाडौं, २० जेठ । आजको प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले करका दरहरू सचेत भएर चलाएको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘राजस्वका दरहरू निकै कम क्षेत्रमा तथ्य संगत ढंगले चलाएका छौं । आफ्नो उत्पादन तथा उद्योगलाई संरक्षण गर्ने गरी करका दरहरू चलाएका छौं ।’

समग्रमा बजेट सन्तुलित रहेको मन्त्री पुनको दाबी छ । उहाँले निजी क्षेत्रको खस्केको मनोबल उकास्न, देशभित्रै युवालाई भविष्य खोज्न र अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट आएको बताउनुभयो । दबाबबीच सन्तुलित बजेट ल्याउन सकेको भन्दै उहाँले अहिले अर्थतन्त्र लयमा फर्कन थालेको र अझै यसलाई राम्रो बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो ।