रामेछाप, चैत २४ । तीन लालको किल्लाका रुपमा परिचित रामेछापमा जेष्ठ कम्युनिष्टहरूका साथै विभिन्न ११ वटा कम्युनिष्ट पार्टीका नेताहरू भेला भएका छन ।
नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो रामेछापमा सुब्बा कृष्णलालको बलिदान शताब्दी र पुष्पलालको जन्म शताब्दी मनाउन नेताहरू भेला भएका हुन ।
कृष्णलाल बलिदान शताब्दी, पुष्पलाल जन्म शताब्दी मूल समारोह समितिले आयोजना गरेको तीन दिने कार्यक्रममा सहभागी हुन कम्युनिष्ट नेताहरू रामेछाप आउनु भएको हो । रामेछापमा आएका कम्युनिष्ट नेताहरूलाई नेकपा एमाले रामेछापले स्वागत गरेको छ ।
एमाले रामेछापले आयोजना गरेको स्वागत कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियालगायतका पदाधिकारी, सदस्य, मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरेलगायतका नेताहरूले खादा लगाएर स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले कम्युनिष्ट नेताहरूको उपस्थितिले मात्रै पनि रामेछापलाई उत्साहित बनाएको बताउनुभयो । कम्युनिष्ट नेताहरूले देखाएको आदर्शबाट अविचलित भएर अघि बढ्ने प्रयत्न आफूहरूले गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी, एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा मालेका महासचिव सिपी मैनाली, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, कम्युनिष्ट नेता ईश्वरी दाहाल (असारे काका), एमाले नेत्री शान्ता मानवी, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह समरजङ्ग, नेकपा अध्यक्ष लोकनारायण सुवेदी, नेकपाका महासचिव ऋषि कट्टेल समुहका नेता आरबी भण्डारी, नयाँ शक्तिकी नेत्री हिसिला यमी, समाजवादी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरू माधव गौतम, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, समालोचक प्राडा हेमनाथ पौडेल, सहिद आयामकी जीवन सँगिनी सरला रेग्मी, नारायण शर्मा, कमलप्रसाद, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई लगायता नेता सहभागी हुनुहुन्छ ।
रामेछापमा पुष्पलाल माक्र्सवाद विश्वविद्यालय स्थापनको लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका संयोजक अशोक सुवेदीले जानकारी दिनुभयो । त्यस्तै साहित्यका सहिद कृष्णलाललाई राज्यको तर्फबाट प्रथम साहित्यका सहिद घोषणा गराउन दबाब दिनको लागि पनि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्