जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १९:१४

वडाध्यक्षको नक्कली हस्ताक्षर गर्ने पूर्ववडाध्यक्ष पक्राउ


सिरहा, बैशाख ८ । सिरहाको नवराजपुर गाउँपालिका २ का पूर्ववडाध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरिएको छ ।

साहलाई सोमबार बिहान आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साहले वर्तमान वडाध्यक्षको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोप छ ।

प्रहरीका अनुसार २०८० माघ १९ मा उनले वडाध्यक्ष सुरेशकुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी चारकिल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताउनु भयो ।

साह २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका २ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को पछिल्लो निर्वाचनमा भने नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडे पनि पराजित हुनुभएको थियो ।