जनता टाइम्स

१६ बैशाख २०८२, मंगलवार १५:१७

धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री


विराटनगर । सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ । शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मंगलबारेमा भेटिएको हो । ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो । बसका मालिक हरेन्द्र चेम्जोङ हुन् ।

प्रहरी स्रोतका अनुसार विराटनगर-१२ मा राखिएको बसको पार्टपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ । शुक्रबार चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । तर बस फेला परेको थिएन ।

मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ । पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।