जनता टाइम्स

२३ बैशाख २०८२, मंगलवार १४:२९

हेम–सरिता फाउण्डेशनले गर्यो ५ सर्जकलाई ४ लाख नगद राशीसहित सम्मान


काठमाडौं, बैशाख २२ । हेम–सरिता पाठक फाउन्डेसनले पत्रकार तथा गीत र कविताका गरी ५ जना सर्जकलाई ४ लाख नगद राशीसहित सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गर्नुभयो ।

कार्यक्रममा २ लाख राशीको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाल संयुक्त रुपमा पुरस्कृत हुनुभयो । पुरस्कृत पत्रकार दाहालद्वयले खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जबाफदेहीताका पक्षमा कलम चलाउँदै आउनु भएको छ । यसैगरी एक लाख राशीको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगी संयुक्त पुरस्कृत हुनुभयो ।

उहाँहरुले ‘जनतालाई रुवायो’ गीतका लागि सो पुरस्कार पाउनु भएको हो । यसैगरी नगद एक लाख राशीको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत हुनुभयो । सो कार्यक्रममा उत्कृष्ट २५ कविहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

सोही कार्यक्रममा ‘भ्रष्टाचार विरुद्धका कविता’ पुस्तक पनि लोकार्पित गरिएको थियो । कार्यक्रममा सांसद सिंह, हेम–सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, पूर्वआइजिपी सर्वेन्द्र खनाल, फाउन्डेसनका प्रमुख सल्लाहकार एंव वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, चर्चित कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

हेम–सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै पुरस्कृतहरुको योगदानबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचन गर्नुभएको थियो ।

टङ्कप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा मौन धारण गरिएको सो कार्यक्रममा गायक एवं सङ्गीतकारहरु नारायण रायमाझी, वीवी अनुरागी, कृष्ण कँडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाउनु भएको थियो भने राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत गर्नुभएको थियो ।

चर्चित पत्रकार एवं कवि ठाकुर बेलवासेले सहजीकरण गर्नुभएको सो कार्यक्रममा पूर्वरक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरु तीर्थ कोइराला, रमेश खरेल (पूर्व डिआइजी), गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटीलगायतको बाक्लो उपस्तिथि रहेको थियो ।