रामेछाप, ४ जेठ । मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायले सुक्खा पर्खाल लगाएर तामाकोशी नदीको बाढी नियन्त्रणको प्रयास गरेका छन् ।
गएको भदौ र असोज महिनामा तामाकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको बस्ती नदीको क्षेत्रमा नदी कटान नियन्त्रण गर्न स्थानीयले श्रमदान गरेरै सुक्खा पर्खाल निर्माण गरेका छन् । नदीले बस्तीमा क्षति पुर्याउने अवस्था आएपछि सामूहिक रूपमा काम गरेर सुक्खा पर्खाल लगाइएको स्थानीय बालकृष्ण माझीले बताउनुभयो ।
बाढीले क्षति पुर्याएको सो बस्तीमा तटबन्ध निर्माणको लागि जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले ५ लाख रुपैँया विनियोजन गरेको थियो । सो बजेटबाट करिब १५ मिटर जाली भर्ने, खेल मैदान सम्म्याउने र खानेपानीको इनार संरक्षण गर्ने काम गरिएको भए पनि त्यसले मात्रै बस्ती जोगाउने नसक्ने अवस्था भएपछि सुक्खा पर्खाल लगाइएको माझीले बताउनुभयो ।
यस अघि पनि बुढापाकाहरूले बस्तीलाई बाढीबाट जोगाउन ठुला ठुला सुक्खा पर्खालहरू लगाउने गरेकाले त्यसैको निरन्तरता स्वरूप सुक्खा पर्खाल लगाइएको स्थानीय जनके माझी बताउनुहुन्छ ।
स्थानीयले एक हप्तासम्म श्रमदान गरेर एक सय मिटर भन्दा लामो सुक्खा पर्खाल बनाएको बालकृष्णले जानकारी दिनुभयो । सो सुक्खा पर्खाल २ मिटर भन्दा चौडा रहेको छ ।
स्थानीयले आफैले गाउँमा खाजा तयार गरेर दैनिक ६ घण्टा बढी श्रमदान गरेका थिए । श्रम गर्नेहरूको लागि घरमा नै स्थानीय मुन (जाँड) तयार गरिएको थियो । गएको तिहारमा देउसी खेलेर जम्मा गरेको रकमबाट खाजाको बन्दोबस्त गरिएको बालकृष्णले बताउनुभयो ।
श्रमदानमा दैनिक ४५ देखि ५० जनासम्म मानिसहरू जुटेका बालकृष्णले बताउनुभयो । ‘के महिला, के पुरुष सबै सराबरी खट्नुभयो, लगायता एक हप्ता खटेर पर्खाल लगाइयो’, उहाँले भन्नुभयो ।
गाइखुरामा ८५ भन्दा बढी घरहरू रहेका छन् । नदी किनारमा रहेको यो बस्तीमा अधिकांश माझी समुदायको बसोबास रहेको छ ।
प्रतिक्रिया दिनुहोस्