हेटौँडा, १३ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सञ्चार र सूचना नेपालीको मौलिक अधिकार भएको बताउनुभएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले पत्रकारलाई स्वतन्त्र रूपले काम गर्न दिनु पर्ने र त्यसमा राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारले पनि यथार्थपरक सूचना दिनु पर्नेमा जोड दिनुभयो । ‘पत्रकारले कहिल्यै पनि नकारात्मक र प्रतिशोधपूर्ण व्यवहार गर्नुहुँदैन, यसले नागरिकको अधिकार कुण्ठित हुनुपर्दछ, पत्रकारले सधैँ यथार्थपरक सूचना प्रवाह गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले अहिले पनि सरकारी विज्ञापन र सूचनाहरूमा श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका सञ्चार माध्यमहरूको पहुँच नपुगेको स्वीकार गर्नुभयो । सरकारी विज्ञापन अहिले पनि बिचौलियाका नियन्त्रणमा रहेका उहाँले स्पष्ट पार्नुभयो । त्यसैले कानुन बनाउँदा पछिसम्म हेरेर बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री लामाले प्रदेश सरकारले गर्ने काम के हो भन्ने कुरामा नै अहिलेसम्म अलमल भएको बताउनुभयो । प्रदेश सरकारले आम्दानीका श्रोत दिने खालका योजना बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘प्रदेश सकारले बनाउने सडक कुनै गाउँमा जाने साना सडक र व्यक्तिको खतमा जाने सडक बनाएर के अर्थ, कम्तीमा प्रदेश स्तरका सडक त बनाउनु पर्यो नि’, उहाँले भन्नुभयो ।
पछि के हुन्छ भन्ने कुराको बिचार नगरी कार्यक्रम र बजेट बनाउँदा जेमा हात हाल्यो त्यसैमा असफल हुने स्थिति आएको उहाँले बताउनुभयो । सरकार, निजी र सार्वजनिक क्षेत्र मिलेर गरेको काम मात्र बलियो र दिगो हुने बताउँदै उहाँले अब साझेदारी मोडका कार्यक्रम सञ्चालन गरिने उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले सकारको खर्च उपलब्धिमूलक काममा खर्च हुन नसकेको बताउनुभयो । खटाएको जनशक्तिले कहाँ कसरी काम गरिरहेको छ भन्ने कुरा समेतको सूचना सरकारसँग नहुने, तालिम दियो, तालिम लिएर उसले के गर्यो, कहाँ छ भन्ने खालका अभिलेख नभएको उहाँले सुनाउनुभयो । ‘प्रदेश सरकारले स्थानीय तहमा कर्मचारी पठायो, पठाए पछि के गर्यो गर्यो, कुनै अभिलेख छैन, बजेट पठायो के कस्तो काम भयो, कुनै अभिलेख छैन । अनि के हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँले समाजमा राम्रो सन्देश दिन सकारात्मक काम र सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । सबैले समृद्धिको मानसिकता बोक्ने हो भने समृद्ध नेपाल बनाउन सकिने उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्