काठमाडौँ ,२३ असार । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
- मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ स्वागत टोलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
- यसैगरी मोरङ, विराटनगर महागनरपालिका-३ स्थित सडकमा ढाँटबाट कन्चनबारीतर्फ आउँदै गरेको को.३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सप्तरी घर भएका २४ वर्षीय अरबिन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
- महोत्तरी, बर्दिबास नगरपालिका-३ स्मृतीपार्कस्थित सडकमा ना.६ ख २२५१ नम्बरको ट्रकमा प्र.२-०२-००१ ह ०२८३ नम्बरको अटो ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर-४ घर भएका ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालक र अटोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ स्थित सडकमा पहरूवाबाट बिजौरीतर्फ आउँदै गरेको रा.२ प ७१०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१५ पहरूवा बस्ने ५० वर्षीय शिव राज सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्